कांग्रेसमा ‘दल’को नेता बन्न दौडधुप तीव्र
काठमाडौं । प्रतिनिधिसभामा ८९ सिट जितेको नेपाली कांग्रेसभित्र संसदीय दलको नेताका लागि दौडधुप तीव्र बनेको छ । दलको नेता छान्ने प्रक्रियामा ८९ जनै प्रतिनिधिसभा सदस्यले सहभागी हुन पाउनेछन् ।
प्रतिनिधिसभा निर्वाचन अन्तिम परिणाम सार्वजनिक भएसँगै दलको नेताका लागि कांग्रेसभित्र बढेको दौडधुपमा सभापति शेरबहादुर देउवादेखि महामन्त्री गगन थापासम्म छन् ।
यो दौडमा रामचन्द्र पौडेल र प्रकाशमान सिंहसमेत ‘आकांक्षी’ देखिएका छन् । तर, मुख्य प्रतिस्पर्धा देउवा र थापाबीचमै हुने अवस्था बढेको छ । कांग्रेस पूर्वमहामन्त्री शशांक कोइराला भने यो दौडधुपबाट ‘ब्याक’ भइसकेका छन् । उनले मंगलबार सभापति देउवालाई भेटेरै सघाउने यस्तो ‘संकेत’ गरेको बताइन्छ ।
देउवासँग १४औं महाधिवेशमा प्रतिस्पर्धी बनेका डा. शेखर कोइराला भने ‘दलको नेता तथा आगामी प्रधानमन्त्री’ विषयमा मौन छन् । प्रधानमन्त्री समेत रहेका सभापति देउवाले आफूनिकटका नेतामार्फत दलको नेताका लागि बालुवाटारबाटै ‘लबिङ’ गरिरहेका छन् । उनले केही शीर्षनेतालाई बालुवाटारमै बोलाएरै ‘इच्छा’ देखाएका छन् ।
प्रवक्ता डा. प्रकाशशरण महतलाई समेत ‘लबिङ’मा खटाइएको छ भने कांग्रेस पूर्वउपसभापति विमलेन्द्र निधि पनि ‘देउवालाई दलको नेता बनाउन मुख खोलेरै’ अघि बढिरहेका छन् ।
दल नेताका लागि महामन्त्री थापाले भने ‘डोर टु डोर’ भेटघाट गरिरहेका छन् । १४औं महाधिवेशनमा संस्थापनइतर समूहबाट सभापतिका उम्मेदवार बनेका डा. शेखर कोइरालालाई भेटेरै उनले ‘दलको नेताका लागि सहयोग गर्न’ आग्रह गरेका छन् ।
उता, नेता रामचन्द्र पौडेललाई पनि थापाले भेटेरै सहयोगका लागि आग्रह गरिसकेका छन् । काठमाडौं ५ बाट निर्वाचित सांसद प्रदीप पौडेलसँग समेत थापाले भेटघाट गरेका छन् । त्यस्तै, नेता चन्द्र भण्डारीसँग भेटेका थापाले उपसभापति धनराज गुरुङसँग सहयोगका लागि आग्रह गरेका छन् ।
कांग्रेस १४औं महाधिवेशनबाट देउवा सभापति र हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा डडेल्धुराबाट निर्वाचित बनेका हुन् । थापा भने देउवा सभापति बन्दा अर्को समूहबाट महामन्त्री निर्वाचित भएका थिए । उनी प्रतिनिधिसभामा काठमाडौं ४ बाट निर्वाचित सांसद हुन् ।
कांग्रेस विधानमा ‘संसदीय दलको नेता प्रधानमन्त्री हुने’ व्यवस्था छ । संसद्मा ठूलो दल कांग्रेस नै भएका कारण र प्रधानमन्त्रीसमेत दाबी गर्न सकिने अवस्था बन्दै गएपछि ‘दलको नेता बन्न’ दौडधुप बढेको हो । दलको नेता आकांक्षी रहेका पौडेल तनहुँ १ र सिंह काठमाडौं १ बाट निर्वाचित सांसद हुन् ।
कांग्रेस राजनीतिको १४औं महाधिवेशदेखिको पृष्ठभूमि हेर्ने हो भने खासगरी संसदीय दलको नेतामा सभापति देउवा र महामन्त्री थापाबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ ।
सो महाधिवेशनमा वरिष्ठ नेता पौडेल र पूर्वमहामन्त्री कोइरालाले ‘मौन बसेर देउवालाई सघाएको’ कांग्रेस वृत्तमा चर्चा छ । सिंह भने ‘पहिलो चरणमा आफैं सभापतिको उम्मेदवार बनेर दोस्रो चरणमा देउवालाई नै समर्थन गरेकाले पनि थापाबाहेकका अन्यले दलको नेताका लागि देउवातिरै ढल्किने’ अवस्था बन्न सक्छ ।
कांग्रेसका अर्का महामन्त्री विश्वप्रकाश शर्माले भने ‘थापालाई नै दलको नेता र आगामी प्रधानमन्त्रीका रूपमा अघि बढाउनुपर्ने’मा जोड दिँदै आएका छन् ।
‘निर्वाचनअघि नै थापालाई प्रधानमन्त्रीका रूपमा प्रस्ताव गरिसकेका’ शर्माले ‘दलको नेताका लागि पनि आफैं प्रस्तावक बन्ने’ सार्वजनिक अभिव्यक्ति दिइसकेका छन् ।
महामन्त्री शर्माले केही दिनअघि गृहजिल्लाबाट निर्वाचन सकाएर काठमाडौं पर्किएपछि त्रिभुवन विमानस्थलबाट सिधैं थापा निवास गएर प्रतिनिधिसभा निर्वाचनमा निर्वाचित बनेकोमा बधाई दिँदै ‘संसदीय दलको नेता’का लागि शुभकामना दिएका थिए ।आजको राजधानी दैनिकमा समाचार छ ।
























