stcnepal long ad
global ime bank long

काठमाडौँका चारवटा मस्जिदको आज अनुगमन

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल वैशाख ९, २०७७ मंगलबार

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारी, मानव अधिकार आयोगका मोहना अन्सारी, प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेल लगायतको टोलीले रत्नपार्कस्थित नेपाली जामे मस्जिद, कास्मिरी मस्जिद, सुनधारा र स्वयम्भूस्थित भुँइखेलका मस्जिदको अनुगमन गरेको हो । विभिन्न सञ्चार माध्यम मार्फत ती मस्जिदमा भीडभाड गरिएको भन्ने जानकारी आएपछि सङ्ख्यात्मक रुपमा मानिस बढी भए कोरोना भाइरस सङ्क्रमण हुने जोखिम बढ्न सक्ने भन्दै अनुगमन गरिएको जनाइएको छ ।

केही दिनअघि मात्र उदयपुरको भुल्केमा रहेको एउटै मस्जिदमा बस्दै आएका १६ मध्ये १२ लाई कोरोना सङ्क्रमण पोजेटिभ देखिएपछि कामपाको सक्रियतामा आज मुस्लिम समुदायको बढी भीडभाड हुने यी चार स्थानको अनुगमन गरिएको हो ।

कामपाका प्रमुख शाक्यका अनुसार आज गरिएको अनुगमनका क्रममा भीडभाड गर्ने, नवाज पढ्ने गरेको अवस्था देखिएन । दुईवटा मस्जिदमा धर्मगुरु, नियमित सरसफाइ गर्ने, खाना बनाउने लगायतका काम गर्ने आठ–आठजना मात्रै रहेको पाइयो । सुन्धारा र स्वयम्भूमा त अझ त्यो भन्दा कम सङ्ख्यामा रहेको पाइयो ।

अनुगमन कै क्रममा उहाँले बाहिरबाट कोही नयाँ व्यक्ति मस्जिदमा आएको जानकारी पाउने बित्तिकै वडाका जनप्रतिनिधि वा प्रहरीलाई खबर गर्न आग्रह गरेको पनि बताउनुभयो ।

अन्य समयमा भीडभाड हुने ती मस्जिद अहिले सुनसान छन् । दैनिक काम गर्ने र धर्मगुरुबाहेक कोही पनि छैनन् । बाहिरबाट आउने कसैलाई पनि त्यहाँ प्रवेश दिइएको छैन ।

अनुगमनका क्रममा मुस्लिम आयोगका अध्यक्ष अन्सारीले काठमाडौँ उपत्यकाभित्र भएका मस्जिदका गतिविधिको अनुगमन गर्न आयोगले समिति बनाएर निरन्तर निगरानी गरेको बताउनु भयो ।

पूर्व राज्यमन्त्री जाकिर हुसेनका अनुसार काठमाडौँ स्थित घण्टाघरको दायाँबायाँ रहेका नेपाली जामे मस्जिद र कास्मिरी मस्जिद उपत्यकाकै ठूला मस्जिद हुन् ।यस बाहेक स्वयम्भूमा अर्को मस्जिद छ । यस्तै सुन्धारा, ठमेल, इन्द्रचोक, कालीमाटी, नयाँबजार, चोभार, बूढानीलकण्ठमा साना–साना मस्जिद छन् । उहाँका अनुसार भक्तपुरमा दुई र ललितपुरको गोदावरीमा पनि मस्जिद छ । रासस

IME Lifesidebar
kumari