निजामती कर्मचारी अस्पताल र चिकित्सकबीच सहमति
साढे दुई वर्षदेखिको आन्दोलन फिर्ता
काठमाडौँ । निजामती कर्मचारी अस्पताल र आन्दोलन चिकित्सक तथा कर्मचारीबीच सहमति भएको छ ।
अस्पतालका कार्यकारी निर्देशक डा। विधाननिधि पौडेल, डाक्टर एसोसिएसन अफ सिभिल सर्भिस अस्पतालका अध्यक्ष डा.सुमनबाबु मरठ्ठा र अस्पताल निजामती कर्मचारी युनियनका अध्यक्ष सन्तोष धिमालबीच तीन बुँदे सहमति भएको अस्पतालका आर्थिक तथा प्रशासन विभाग प्रमुख कृष्ण सापकोटाले जानकारी दिए ।
सहमति अनुसार चिकित्सक र कर्मचारीले विगत साढे दुई वर्षदेखि आन्दोलन गर्दै आएको सबै कार्यक्रम फिर्ता भएका छन् ।
उनका अनुसार सहमति अनुसार चिकित्सक र कर्मचारी सङ्घले राखेका मागलाई सम्बोधनका लागि अस्पताल व्यवस्थापन समितिमा पेस गर्ने र कर्मचारीसँग सरोकार राख्ने विषयमा कर्मचारी संघसँग छलफल गरिनेछ ।
डाक्टर्स एसोसिएसन अफ सिभिल सर्भिस अस्पतालका अध्यक्ष डा मरठ्ठाले आफूले उठाएका माग सम्बोधन गर्ने भएपछि केही समयका लागि आन्दोलन स्थगित गरेको बताए ।
सहमतिपछि अस्पताललमा चिकित्सक र कर्मचारी सङ्घले आफ्ना माग राखी टाँगिएको कालो ब्यानर हटाएका छन् । विभिन्न आठ बुँदे माग राखी चिकित्सक र कर्मचारी आन्दोलनमा उत्रिएका थिए ।























