काठमाडौँमा नेपाल–बङ्गलादेश जलस्रोत समितिको बैठक
काठमाडौँ । नेपाल–बङ्गलादेश जलस्रोत समितिको सचिवस्तरीय संयुक्त बैठक काठमाडौँमा सुरु भएको छ । झन्डै १५ वर्षपछि नेपाल र बङ्गलादेश बीच जलस्रोत समितिको सचिवस्तरीय संयुक्त बैठक बसेको हो । अघिल्लो बैठक सन् २००८ को फेबु्रअरी २६ देखि २९ सम्म भएको थियो ।
दुईदिन चल्ने बैठकमा जलश्रोतको उपयोग तथा बाढी नियन्त्रण सम्बन्धी मुख्य एजेण्डामा छलफल हुने बताइएको छ ।
बैठकमा नेपालको तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सागर राई तथा बङ्गलादेशको तर्फबाट जलस्रोत मन्त्रालयका वरिष्ठ सचिव कवीरविन अनवरले नेतृत्व गरेका छन् ।
बैठकमा जलवायु परिवर्तनको मुद्दा एवं जल तथा मौसम सम्बन्धी तथ्याङ्कहरूको आदान–प्रदानका विषयमा पनि छलफल हुने बताइएको छ ।
























