stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

१२ देखि १६ घण्टासम्मको चर्को लोडसेडिङले थलापर्ने अवस्थामा

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । औद्योगिक क्षेत्रमा चर्को लोडसेडिङले पछिल्ला दिनमा उद्योगहरू गम्भीर संकटमा पर्न थालेका छन् । मुलुकका प्रमुख औद्योगिक करिडोरहरूका सयौं उद्योगहरू दैनिक विना कुनै पूर्व सूचना १२ देखि १६ घण्टासम्मको चर्को लोडसेडिङले थलापर्ने अवस्थामा पुगेका छन् ।

यसले उद्योगहरूमा ठूलो आर्थिक नोक्सानी, उत्पादकत्वमा प्रतिकुल असर पर्नुका साथै मुलुकको अर्थतन्त्रमै गम्भीर संकट आउनेतर्फ निजी क्षेत्र चिन्तित भएको छ ।

चर्को लोडसेडिङले अब उद्योग संचालन गर्न नसक्ने अवस्था आएकोतर्फ ध्यानाकर्षण गराउंदै अविलम्ब समस्या समाधानमा सहयोग गर्न आग्रह सहित सयौं उद्योगहरूबाट महासंघमा अनुरोध पत्र आएका छन् ।

लामो समय विद्युत कटौती, ट्रिप्लिङ, लो भोल्टेज लगायतका समस्याबाट नियमित तालिका अनुसार उद्योग सञ्चालन गर्न नसक्ने, अपरझट विद्युत आपूर्ति बन्द हुँदा करोडौं पर्ने मेसिनहरूमा क्षति पुग्ने, उद्योग सञ्चालन नहुँदा कामदार कर्मचारीको तलब ज्याला, उत्पादन कटौती हुँदा सामान डेलिभरी, उत्पादनको क्रममा रहेको कच्चा पदार्थ खेर जाने, बैंकको चर्को ब्याज र साँवा भुक्तानी लगायतमा गम्भीर समस्या पर्न गएको भन्दै महासंघले सरकार र नेपाल विद्युत प्राधिकरणको गम्भीर ध्यानाकर्षण गराएको छ ।

प्राधिकरणले जुनसुकै मूल्यमा पनि विद्युत खरिद गरी औद्योगिक क्षेत्रमा ऊर्जा अभाव हुन नदिने र लोडसेडिङ नगर्ने भनि विगतमा पटकपटक गरेको प्रतिवद्धतालाई महासंघले स्मरण गराएको छ । यसले मुलुकको औद्योगिकरणको यात्रामै गम्भीर धक्का दिने भन्दै महासंघले चिन्ता व्यक्त गरेको छ । एकातर्फ प्राधिकरणले नै विद्युत खपत बढाउन आग्रह गर्ने र अर्कोतर्फ विना सूचना घण्टौं विद्युत आपूर्ति अवरुद्ध पार्नुले थपचिन्ता प्रकट गरेको महासंघले जनाएको छ ।

 

उत्पादन लागत निरन्तर बढीरहेको अहिलेको अवस्थामा पुनः चर्को लोडसेडिङको समस्याले मुलुकको निर्यातमा गम्भीर धक्का लाग्ने र यसले समग्रमा मुलुकको सोधनान्तर घाटालाई थप फराकिलो बनाउने छ । विद्युतको नियमित आपूर्ति हुन नसक्ने हो भने आर्थिक वृद्धिको प्रक्षेपणमा धक्का लाग्ने, उद्योगहरूको प्रतिस्पर्धी क्षमता गुम्न गई समग्रमा निर्यातनै प्रभावित हुनेछ ।

विद्युत उर्जाको विकल्पमा जेनेरेटर प्लान्टबाट उद्योग संचालन गर्दा उच्च लागत पर्ने र अहिले इन्धनको बढ्दो लागतका कारण त्यो असम्भव प्राय छ र त्यसरी उत्पादन गरेका वस्तु आपूर्ति गर्दा बजारमा सिर्जना हुने मूल्यवृद्धिले आमजनजीवन थप कष्टकर हुने हाम्रो विश्लेषण छ ।

अतः विद्यमान समस्याको तत्काल समाधानका लागि कुटनीतिक माध्यमबाट भारतसंग छलफल गरी नेपाललाई दिंदै आएको विजुली नियमित आपूर्ति गर्नेतर्फ अविलम्व पहल गर्न महासंघले गम्भीर आग्रह गरेको छ ।

त्यस्तै उद्योगहरूमा विद्यतु कटौती हुने तालिका सार्वजनिक गर्न र विजुली दिन्छु भनेको समयमा निर्वाध विद्युत आपूर्तिको सुनिश्चिता दिलाउन महासंघको जोड छ । यसैगरी निजी क्षेत्रका ऊर्जा उत्पादकहरू सँग थप ऊर्जा उत्पादन गर्न सक्ने क्षमता भएकाले प्राधिकरणले तत्काल छलफल गरी समाधानको उपाय निकाल्नु पर्ने, विद्युत खरिद सम्झौता (पीपीए) तत्काल खोल्न र आयातित विद्युतको गुणस्तरमा ध्यान दिनुपर्नेतर्फ नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल सरकार र नेपाल विद्युत प्राधिकरण समक्ष गम्भीर आग्रह गर्दछ ।

चौतर्फी संकटमा रहेका उद्योगहरूले पछिल्लो पटक भोग्नु परेको उर्जा समस्या समाधानमा सरकारलाई गम्भीर हुन आग्रह गर्दै समस्या समाधान नभएमा जुनसुकै समय उद्योगहरू बन्द गर्नुपर्ने बाध्यता आउनेतर्फ सचेत गराएको छ ।

prabhu mahalaxmi
kumari