नेपाल वायुसेवाले रियादमा उडान भर्ने
काठमाडौं। नेपाल वायुसेवा निगमले साउदी अरेबियामा नियमित उडान भर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले राष्ट्रिय ध्वजाबाहक विमानबाट साउदी अरेबियामा नियमित उडान भर्नका लागि पहल चालेसँगै अबु वायुसेवा निगमले नियमित उडान भर्ने जनाएको छ ।
निगमका अनुसार २०७९ वैशाख ९ गतेदेखि वायुसेवाको राष्ट्रिय ध्वजाबाहक विमानले पहिलो पटक साउदी अरेबियाको रियादमा नियमित उडान गर्ने भएको छ । उक्त उडानका लागि नेपाल नागरिक उड्डययन प्राधिकरणले पनि वायुसेवा निगमलाई उडान अनुमति दिइसकेको निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले जानकारी दिएका छन ।
उनका अनुसार वायुसेवा निगमले साउदी अरेबियाको रियाद, दमाम तथा जेद्दामा उडान गर्नसक्ने गरी अनुमति पाएको छ । निगमले व्यावसायिक योजनाअनुरुप काठमाडौं–रियाद–काठमाडौं सेक्टरमा नियमित उडान सुरु गर्ने भएको छ ।
यो रुटमा निगमले लामो समयदेखि उडानको तयारी गरे पनि अनुमति भने पाएको थिएन । मन्त्री आलेले उडान अनुमतिका लागि पहल गरेपछि अब वायुसेवाको राष्ट्रिय ध्वजाबाहक विमानले उडान भर्ने भएको हो । यसअघि हिमालय एरलाइन्सले मात्रै साउदीमा उडान अनुमति पाएको थियो ।






















