citizens life insurance long ad
stcnepal long ad

पुननिर्मित आनन्द भुवन विहार उद्घाटन

काठमाडौंको पहिचान नै सम्पदा हुन्, यससँग सम्बन्धित क्रियाकलाप र संरचना जोगाउने महानगरको नीति हो –मेयर शाक्य

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्यले आज आनन्द भूवन विहारको उद्घाटन गर्नुभएको छ । स्वयम्भू महाचैत्यको पादमूल भुइँखेलमा रहेको यो विहारलाई २०७२ सालको भूकम्पले क्षतिग्रस्त बनाएपछि २०७७ मंसिर २५ गते शिलान्यास गरेर पुननिर्माण थालिएको थियो ।

विहार २ चरणमा पुननिर्माण भइरहेको छ । ४ करोड २५ लाख रुपैयाँ लागत अनुमान रहेको विहार पुननिर्माणको पहिलो चरणमा करीब २ करोड रुपैयाँ बराबरको खर्चबाट पुननिर्माण भएको हो । २ करोड रुपैयाँमध्ये ८५ प्रतिशत रकम महानगर र १५ प्रतिशत उपभोक्ताकातर्फबाट व्यहोरिएको छ ।

महानगरबाट उपलब्ध हुने रकममध्ये पहिलो चरणमा उपलब्ध गराइसकिएको छ भने दोस्रो चरणको सम्झौता हुने चरणमा छ । अहिलेसम्ममा भक्तहरुबाट करिब १ करोड ३७ लाख ८७ हजार रुपैयाँ संकलन भएको छ ।

उद्घाटनपछि बोल्दै प्रमुख शाक्यले, सम्पदासँग सम्बन्धित जुनसुकै योजनालाई उच्च प्राथमिकता दिएर कार्यान्वयन गरेकाले २०७२ सालको भूकम्पले जीर्ण भएका धेरै सम्पदा पुननिर्माण भएको बताउनुभयो । ‘मैले लगेका कुनै पनि प्रस्ताव कार्यपालिकाको बैठक र नगर सभाबाट कहिल्यै अस्वीकृत भएनन् । सुधारका लागि सुझाव आए तर फिर्ता गर्नु परेन । यसरी भएका सर्वसम्मत निर्णयप्रति मलाई गौरव लागेको छ ।’

‘हामी निर्वांचित भएपछि उद्घोष गरेका थियौँ । २०७२ सालको भूकम्पले जीर्ण भएका महानगरभित्रका सबै सम्पदाको पुननिर्माण, मर्मत वा संरक्षण गर्न सक्छौँ । हामीले बोलेका कुरा पूरा गर्ने कामका लागि प्रयास गरिरह्यौँ ।

कतिपय ठाउँमा प्रशासनिक र कानुनी कारण काम हुन सकेनन् । कतिपय ठाउँमा गलत नियत भएका व्यक्तिले दिने उजुरीका कारण काम हुन सकेनन् । कतिपय ठाउँमा स्वामित्व विवादका कारण काम हुन सकेनन् ।’ मेयर शाक्यले भन्नुभयो, ‘सांस्कृतिक स्थान र गतिविधिसँग पर्यटकीय प्रवर्धनका काम गरौँ । यसबाट स्थानीयबासीको आयमा वृद्धि हुन्छ । सरकारलाई यस क्षेत्रबाट प्राप्त आयले सम्पदाको दिगो संरक्षणमा सघाउ पुग्छ ।’

विहारहरुको संरक्षणको आवश्यकता पहिचान भइसकेपछि महानगरले लगानी बढाएको उल्लेख गर्दै कार्यक्रममा उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले, हरेक ५ बर्षमा हुने स्थानीय सरकारको निर्वाचनबाट नेतृत्व परिवर्तन गरे पनि महत्वपूर्ण योजनाहरुले निरन्तरता पाउने बताउनुभयो । महानगरबासीले तिरेको करलाई जनताकै सहुलियतका काम गरेको उपप्रमुख खड्गी श्रेष्ठको भनाइ थियो ।

विश्व सम्पदा क्षेत्रको काखमा रहेको विहारले थेरवादी वुद्ध शिक्षामार्फत सामाजिक सद्भाव, र शान्तिका लागि ठूलो योगदान दिएको छ । कार्यक्रममा वडा १५ का अध्यक्ष एवं महानगरका प्रवक्ता ईश्वरमान डंगोलले भन्नुभयो – ‘भौतिक पूर्वाधार, सरसफाइ, सांस्कृतिक सम्पदाको जगेर्नालगायत काममा वडा काम गर्ने क्रममा आनन्द भुवन विहार विहारको पुननिर्माणले सम्पदा क्षेत्रको गरिमा बढाएको छ ।’ उहाँकाअनुसार वडा १५ भित्र करीब १० वटा मुख्य गुम्बा र ५ वटा मुख्य विहार छन् । अन्य सानातिना गुम्बा र विहार धेरै छन् ।

कार्यक्रममा विहारका प्रमुख कौडिण्य महास्थवीर, महासचिव वुद्धिमान शाक्य लगायत वक्ताले महानगरमा जनप्रतिनिधि आएपछि आफूहरुले अभिभाववक प्राप्त गरेको अनुभूति गरेको धारणा राख्नुभयो । यसअघि विहार बनाउन दाताहरुकै भर थियो ।

अहिले महानगरले सहयोग गरेको छ । यसबाट सरकारको न्यानोपन अनुभूति गर्न पाइयो । उहाँहरुको भनाइ सार थियो ।

आनन्द भूवन विहार २०३७ सालमा निर्माण भएको विहार हो । विहारमा आवासीय भिक्षुहरुले बुद्ध शिक्षा लिइरहनुभएको छ । विहारमा वुद्ध पूजा, ज्ञानमाला भजन, धर्मदेशना, शील प्रार्थाना, परित्राण— पाठ, पुण्यानुमोदन जस्ता कार्यहरु सञ्चालन हुँर्दै आएका छन् ।

कार्यक्रममा विहार निर्माणमा महत्वपूण सहयोग उपलब्ध गराएकोले प्रमुख शाक्य, उपप्रमुख खड्गी श्रेष्ठ र वडाध्यक्ष डंगोललाई सम्मान गरिएको थियो ।

IME Life
kumari