काठमाडौं महानगरको फोहोर दश दिन देखि उठ्न सकेको छैन
काठमाडौं । विगत दश दिनदेखि काठमाडौं महानगरको फोहोर उठ्न सकेको छैन । फोहोर थुप्रिएपछि शहर दुर्गन्धीत बनेको छ । चोक चोकमा फोहोरको थुप्रो छ । वर्षौँ अघि ठेक्का लागे पनि पासाङ ल्हामु राजमार्गको निर्माण सम्पन्न नभएपछि स्थानीय बासिन्दा विरोधमा उत्रिँदा काठमाण्डौमा फोहोरको डङ्गुर थुप्रिन थालेको छ ।
नुवाकोटको सिसडोल जाने पासाङ् ल्हामु राजमार्ग अन्तर्गतको जिरो माइल नजिकै ६ किलोमिटर सडक मर्मत कार्य भैरहेकाले फोहोर उठ्न नसकेको काठमाण्डौ महानगरपालिकाले जनाएको छ ।
सडकमा कालोपत्रे गर्नुपर्ने भएकाले अझै एकरदुई दिन फोहोर नउठ्ने महानगरका प्रवक्ता ईश्वरमान डंगोलले बताउनुभयो । सडक निर्माणमा ठेकेदारले ढिलासुस्ती गरेको र फोहोर उठाउन समस्या भएको उहाँको भनाई छ ।
डंगोलका अनुसार सिसडोलमा फोहोर फाल्ने विषयमा भने अहिले विवाद छैन । तर स्थानियबासिन्दाले गएको फागनु एक गतेदेखि गाडी रोकेर अवरोध गरिरहेका छन् ।

























