स्थगित त्रि.वि. परीक्षा फागुनमा हुने
काठमाडौं । कोरोना महामारीको तेस्रो लहरका कारण रोकिएको त्रिभुवन विश्वविद्यालयका विभिन्न संकायका परीक्षा आगामी फागुनमा हुने भएको छ ।
हिजो माघ १७ गते सोमबार बसेको त्रिभुवन विश्वविद्यालयका पदाधिकारीको बैठकले यस्तो निर्णय गरेको बताइएको छ।
नेपालमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै त्रिविले ९ माघदेखि परीक्षा स्थगित गर्ने निर्णय गरेको थियो । केही दिनयता कोभिड संक्रमण घट्दो क्रममा रहेकाले स्थगित परीक्षाबारे निर्णय गर्न हिजो त्रिवि पदाधिकारीको बैठक बसेको थियो ।
‘स्थगित गरिएका लिन बाँकी रहेका सम्पूर्ण परीक्षाहरू फागुन महिनामा सञ्चालन गरेर सक्ने गरी तालिका सार्वजनिक गरिएको त्रिविका परीक्षा नियन्त्रक पुष्पराज जोशीले बैठकपछि बताएका थिए ।
कोभिड संक्रमण बढेसँगै त्रिवि, पूर्वाञ्चल विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालयले बीचमै परीक्षा स्थगित गरेका थिए ।

























