ठुलो परिणाममा लागू ओैषध बरामद
काठमाडौं। काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रबाट प्रहरीले ठूलो परिमाणमा लागुऔषध बरामद गरेको छ । प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरो र औषधि व्यवस्था विभागबाट खटिएको संयुक्त टोलीले उपत्यकाका विभिन्न क्षेत्रमा गरेको खोजतालासका क्रममा २४ हजार ८ सय बढी क्याप्सुल नियन्त्रित औषधसहित पाँच जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौं सिफल बस्ने रामेछापका २५ वर्षीय सुनिल भन्ने निमा दोर्जे शेर्पा, काठमाडौं गोकर्णेश्वर बस्ने बझाङका २९ वर्षीय उमेशकुमार केसी, काठमाडौं चावहिलस्थित कल्याणकारी मेडिकल हलका सञ्चालक संखुवासभाका ३० वर्षीय पेम्वा शेर्पा, नुवाकोटका ३४ वर्षीय राजाराम दवाडी र काठमाडौं टोखा बस्ने लमजुङका ३८ वर्षीय बद्रिनाथ पौडेल रहेका छन् ।
प्रहरीले निमाबाट ११५ ट्याब्लेट ट्रामाडोल र उमेशकुमारबाट २० हजार ७ सय क्याप्सुल ट्रामाडोल बरामद गरेको छ । साथै पेम्वा शेर्पाबाट २९० ट्याब्लेट लोबाजाम, १५३ ट्याब्लेट लोरी, एक सय ट्याब्लेट निट्रेस्ट, ९० ट्याब्लेट जोलियुम, २७५ ट्याब्लेट कोडोट्याब, ३९० ट्याब्लेट क्लोजिप क्लोजिप, १४ ट्याब्लेट क्लोप्रियुम, ५१८ ट्याब्लेट पाज, २८५ ट्याब्लेट क्लोनाज, ३० ट्याब्लेट स्टागन र ५० ट्याब्लेट कोफटाब बरामद भएको प्रहरीले जनाएको छ ।
राजारामबाट बा ११ च १०१४ नम्बरको भ्यानमा ल्याएको १८० ट्याब्लेट लेभोनोरजेस्ट्रेल, ९० ट्याब्लेट अन्वान्टेड लेभोनोरजेस्ट्रेल, ८५० थान सफ्टजेल क्याप्सुल, ६७२ ट्याब्लेट बर्थ स्पेसिङ पिल्स, ३० वटा ल्याबोडर्म, १८४ ट्याब्लेट जेनेग्रा, १६० ट्याब्लेट जेनेग्रा रेड र ९० ट्याब्लेट प्रेगौट किक तथा बद्रिनाथ पौडेलबाट नगद १ लाख ४० हजार रुपैयाँ बरामद भएको जनाइएको छ ।
उपत्यकामा नियन्त्रित लागुऔषध ट्रामाडोलको अवैध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्यूरो तथा औषधि व्यवस्था विभागबाट खटिएको संयुक्त टोलीले उनीलाई उक्त लागुऔषध सहित फेला पारी पक्राउ गरिएको ब्यूरोले हिजो माघ १७ गते एक सूचना जारी गरी जनाएको छ ।
बरामद औषधि, सवारीसाधन र नगदसहित उनीहरूलाई आवश्यक कानुनी कारबाहीको लागि औषधि व्यवस्था विभाग पठाइएको लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरले जनाएको छ ।

























