सैनिक प्रवक्ता र पत्रकार भेटघाट
काठमाडौं । नेपाली सेनाका नवनियुक्त प्रवक्ता सहायक रथी नारायण सिल्वालले सेना र पत्रकारिताको मुख्य उद्देश्य भनेको राष्ट्र र जनताको हित प्रवर्द्धन गर्ने साझा जिम्मेवारी भएको बताएका छन् ।
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयद्वारा पुस २९ गते बिहीबार आयोजित नयाँ प्रवक्ताको स्वागत तथा निवर्तमान प्रवक्ताको बिदाइ तथा परिचयात्मक कार्यक्रममा उनले दुवै पक्षले एकअर्काका कार्य जिम्मेवारी र प्रकृति बुझेर पारम्परिक सद्भावका आधारमा अघि बढ्न सकिने उल्लेख गरेका छन ।
प्रवक्ता सिल्वालले भने, ‘सञ्चारजगत्लाई बुझ्ने र सेनालाई हेर्ने दृष्टिकोणमा देखिने खाडललाई कार्यसम्पादनका आधारमा अन्त्य गर्नुपर्छ ।’
निवर्तमान प्रवक्ता सन्तोषबल्लभ पौडेलले प्रवक्ताको जिम्मेवारीमा रहेपछि पत्रकारिताप्रतिको आम धारणा र आफ्नो बुझाइ गलत सावित भएको बताएका थिए । उनले भने, ‘पत्रकारिता जगतले राष्ट्रिय सुरक्षाका सवालमा अत्यन्तै सजग र संवेदनशील भई उच्च प्राथमिकता दिएको पाएँ, जुन मैले सोचेकोभन्दा फरक रह्यो ।
कार्यप्रकृति, क्षमता र प्रभाव अलगअलग हुने भएकाले सबै मिडियालाई एउटै आँखाले हेर्न नहुने रहेछ । जनता र राष्ट्रहितका सबैको एउटै गतिमा अघि बढ्न जरुरी छ ।’
राजधानीबाट प्रकाशित एवं प्रसारण हुने राष्ट्रिय सञ्चारमाध्यममा नेपाली सेनाका बिटमा समाचार लेख्ने पत्रकारको कार्यक्रममा सहभागिता थियो ।
प्रवक्ता सिलवालले हिजो बिहीबारबाटै आफ्नो जिम्मेवारी सम्हालेका छन् । निवर्तमान प्रवक्ता पौडेलको शान्ति कार्य निर्देशनालयमा सरुवा भइसकेको छन् ।






















