सीआइबीको अनुसन्धान प्रतिवेदन फिर्ता, हदम्यादले मुद्दा नरोकिने
काठमाडौं। ललिता निवास जग्गा प्रकरणमा नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सीआइबी) ले गरेको किर्ते सम्बन्धी अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले फिर्ता गरिदिएको छ ।
अनुसन्धानमा केही कुरा अपुग देखिएको र थप केही विषयमा अनुसन्धान गर्नुपर्ने भएकाले फिर्ता पठाईको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख गंगाप्रसाद पौडेलले बताउनुभयो ।
के के विषयमा थप अनुसन्धान गर्नुपर्ने देखिएको भन्नेबारे भने पौडेलले खुलाउन चाहनु भएन ।
सीआईबीले सरकारी कागजात कीर्ते गरेको भन्दै ललिता निवास जग्गा प्रकरणका मुख्य अभियुक्त मध्येका रामकुमार सुवेदी र उहाँकी पत्नी माधवीलाई पुस ७ गते पक्राउ गरेको थियो ।
सीआईबीले अनुसन्धानका सिलसिलामा अरु पनि दोषी देखिएको भन्दै तीनसय जना भन्दा बढीलाई मुद्दा चलाउन सरकारी वकिल कार्यालयलाई राय दिएको थियो ।
मुलुकी अपराध संहिता २०७४ अनुसार कीर्ते मुद्दामा थाहा पाएको दुई वर्षभित्र मुद्दा चलाइसक्नुपर्छ । यस अनुसार ललिता निवास जग्गा प्रकरणमा कीर्तेसम्बन्धी मुद्दा दायर गर्ने हदम्याद सोमबार (आज) नै सकिएको छ ।
जिल्ला सरकारी वकिल कार्यालय प्रमुख पौडेले यो घटना मुलुकी अपराध संहिता आउनु भन्दा अघिको भएकाले सीआईबीले थप अनुसन्धान गरेपछि मुलुकी ऐन २०२० अनुसार पनि मुद्दा चलाउन सकिने बताउनु भएको छ ।
‘यो घटना नयाँ मुलुकी अपराध संहिता आउनु अघिको भएकाले यो मुद्दा मुलुकी ऐन २०२० अनुसार नै अघि बढ्छ । यस कारण दुई बर्षे म्याद लागू हुँदैन,’प्रमुख पौडेलले भन्नुभयो ।


























