सन् २०२२ मा सेयर बजार उकालो चढने अपेक्षा
नेपालको इतिहासमै नेप्से परिसूचकले पहिलो पटक हालसम्मकै उच्च ३१९८ को विन्दु चढयो।
काठमाडौं । नेपालको सेयर बजारका लागि सन् २०२१ ऐतिहासिक वर्ष रहयो। यही वर्षको गत अगष्ट १९ मा नेपालको इतिहासमै नेप्से परिसूचकले पहिलो पटक हालसम्मकै उच्च ३१९८ को विन्दु चढयो।
यो वर्ष नेपालको सेयर बजारले नयाँ इतिहास रच्नुका साथै बजारको विकास र विस्तार पनि भएको पाइयो। यो वर्ष लगानीकर्ताको संख्या पनि दोब्बर संख्याले बढेर ४८ लाख नाग्यो। यो वर्षको सुरुमा २२ लाखको हाराहारीमा रहेकोे डिम्याट खाता बढेर ४८ लाखको हाराहारीमा पुगेको छ।
समग्रमा नेपालको सेयर बजार सन् २०२१ मा कस्तो रहयो र २०२२ मा कस्तो रहला भन्ने विषयमा लगानीकर्ता र सेयर विश्लेषकहरु बीच चासो र चर्चा भैरहेको छ। अनेकौ अनुमानहरू गरिदै आएको पाइन्छ।
वित्त विश्लेषकहरू भन्छन(–सन् २०२१ सेयर लगानीकर्ताहरुका लागि लाभदायक नै भएको देखिन्छ। यो वर्ष कोभिड –१९ को चुनौती पनि थियो, जुन सहज भएको छ।
अहिले नेपालको सेयर बजारमात्रै नभएर समग्र अर्थतन्त्र नै सुस्त छ। सबैभन्दा पहिले अर्थतन्त्र चलयमान हुन आवश्यक छ।
सरकारले लिने नीतिले हाम्रो अर्थतन्त्रलाई असर गर्ने गर्दछ। हाम्रो अर्थतन्त्र आयातमा आधारित रहेको छ। सरकारले लिने नीतिले हाम्रो अर्थतन्त्रलाई असर पर्ने देखिन्छ। सरकारले ब्यालेन्स अफ पेमेन्टलाई पनि ध्यान दिनुपर्ने हुन्छ।
सरकारले सकारात्मक काम गर्न खोज्दा नकारात्मक पनि भएको हुन सक्छ। अहिले रेमिट्यान्स घटेको छ। सरकारले रेमिट्यान्स बढाउने र तरलता सहज हुने कार्य गर्नुपर्ने देखिन्छ।
मुख्य विषय कार्यान्वयन पक्षको हो। हाम्रो देशमा कार्यान्वयन पक्ष कमजोर रहेको देखिन्छ।
सन् २०२२ पनि पुँजीबजार चलयमान नै हुने देखिन्छ। यसका लागि सरकार र नियामक निकायले काम गर्नुपर्ने देखिन्छ। पुँजीबजारमा लगानी गर्ने भनेको कम्पनीको आम्दानीमा आधारित हो। लगानीकर्ताले लगानीगर्दा कम्पनीमा आधारित भएर लगानी गर्नुपर्ने हुन्छ। सेयर बजार उकालो नै लाग्छ। समग्रमा २०२२ मा सेयर बजार सकारात्मक नै हुने देखिन्छ।
सेयर बजार विश्लेषकहरू भन्छन–
समग्रमा २०२१मा सेयर बजार सुखद नै रहयो। सेयर बजारमा भोलुमदेखि कारोबार सबैले बजारलाई सर्पोट गर्यो।
यो वर्ष नेपालको सेयर बजारको इतिहासमा टेक्नोलोजीमा पनि फड्को मारेको छ। मेरो सेयरमा सीडीएसीले पनि धेरै सुधार गरेको छ। नियामक निकायको नीतिले भने लगानीकर्ता केही मारमा परेको देखिन्छ।
यो वर्ष धितोपत्र बोर्ड केही नराम्रा काममा लागेकोजस्तो देखिन्छ। यसले खराब सन्देश गयो। अब आउने नेतृत्व भिजन भएको निःस्वार्थ काम गर्ने आओस भन्ने हाम्रो चाहना र कामना सबैको छ। अहिले हाम्रो देशको अर्थंतन्त्र केही जटिल छ।
नेपाल राष्ट्र बैंकको ४–१२ सेयर कर्जा नीति त्यति उपयुक्त देखिँदैन। यसले लगानीकर्तालाई धक्का लगेको छ। देशको अर्थतन्त्र केही जटिल छ भन्ने विषय राष्ट्र बैंकले चालेको कदमबाट बुझिन्छ। आयात र डलर सटहीमा कडाइले पनि यसलाई प्रस्ट पार्दछ।
सन २०२२ मा पनि सेयर बजार चलयमान नै हुनेछ। अहिले सेयर बजारले तत्काल उच्च विन्दु नचुमे पनि सबै अर्थतन्त्रका सूचक सकारात्मक भएर तरलता सहज र ब्याजदर नियन्त्रण भएमा आगामी वर्ष पनि नेपालको सेयर बजार उच्च नै हुने आम लगानीकर्ताहरूको अनुमान छ।
यति भन्दाभन्दै लगानीकर्ताले सेयरमा लगानी गर्नुभन्दा पहिले कम्पनीको अवस्था हेरेर र अध्ययन गरेरमात्रै लगानी गर्नुपर्छ। किनकि सेयर बजारमा लगानी जोखिम पनि हुन्छ।
सेयर बजार जानकारहरू भन्छन– यो वर्ष समग्रमा बजार राम्रै रहेको देखिन्छ। नियामक निकाय बजारप्रति अनुदार देखिए। यसै वर्ष धितोपत्र बोर्डले ५१ वटा खराव कम्पनीहरू भनेर नामहरुको सुची निकाल्यो। यो आफैँमा उपयुक्त थिएन। यसले बजारमा नकारात्मक प्रभाव पार्यो।
त्यसैगरी राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई लघुवित्त कम्पनीको सेयर बिक्री गर्न बाध्य बनायो। यतिमात्रै नभएर नियमनको नाममा फेरि राष्ट्र बैंकले बैंक तथा वित्तीय क्षेत्रलाई सेयर खरिदबिक्रीमा रोक नै लगाउने काम गर्यो।
बजारमैत्री भनेर चिनिएका तात्कालिक अर्थ मन्त्री विष्णु पौडेलले बजेट मार्फत सेयर लगानीकर्तालाई कर बढाएर ढाड सेक्ने काम गरे। उनले अल्पकालीन लगानीकर्ताका लागि ५ प्रतिशतबाट कर बढाएर ७.५ प्रतिशतसम्म पुराएका थिए।
त्यसपछि राष्ट्र बैंकले एकीकृत निर्देशिका परिर्वतन गरेर असल ऋणमा राख्नुपर्ने प्रोभिजन १ प्रतिशतबाट बढाएर १.०३ प्रतिशत बनायो।
यसले बैंक तथा वित्तीय क्षेत्रको बाँड्न सक्ने कुल लाभांशको ४ प्रतिशतसम्म घट्यो। यसले बैंकका लगानीकर्ताहरुमा निराशा छायो।
राष्ट्र बैंकले नै सेयर धितो कर्जाको औसत मूल्य गणना १२० बाट बढाएर १८० दिन पुर्यायो। त्यसपछि आएको मौद्रिक नीति पनि ब्याजदर बढाउने खालको आयो।
मौद्रिक नीतिमा ४–१२ फन्डा ल्याइयो। यसले सेयर बजारमा निकै हलचल ल्यायो। यसले गर्दा नेपालको सेयर बजारमा केही सुखद् पक्ष भए पनि केही प्यानिक अवस्था पनि आयो।
यति हुँदाहुँदै पनि अब आउने सन् २०२२ सेयर बजारमा केही सकारात्मक आशा गर्न सकिने ठाउँ रहेका छन्। आउने सालमा अब ब्याजदर पनि विस्तारै घट्ने सम्भावना देखिन्छ। किनकि व्याजदर जति बढ्नु बढ्यो। ब्याजदर यही नै उच्च हो। ब्याज दर र सेयर बजारको सम्बन्ध उल्टो हुने भएकोले अब बजार सकारात्मक दिशामा अगाडि बढ्नेछ।
सरकारले खर्च गर्दै जाँदा अब तरलता बढ्ने र ब्याजदर घट्ने सम्भावना देखिन्छ। आगामी वर्ष चुनावी वर्ष भएकोले पनि बजार सकारात्मक नै हुन्छ।
चुनाव हुँदा बजारमा पैसा फ्लो हुन्छ। यसका साथै बजारको विस्तारका लागि सरकारले बैंक तथा वित्तीय क्षेत्रलाई ब्रोकर लाइसेन्स पनि दिन सक्नेछ। नियामक निकायमा पनि नेतृत्व आउन सक्ने देखिन्छ। यस हिसाबले २०२२ नेपाली सेयर बजारका लागि ऐतिहासिक सुनौलो वर्ष हुने अपेक्षा गर्न सकिन्छ ।






















