एसएसपी यादवले क्वाटरमै आत्महत्या गरे
काठमाडौं । नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुशीलकुमार यादवले भैरहवाको आफ्नै क्वाटरमा आत्महत्या गरेको अवस्थामा फेला परेका छन् ।
नेपाल प्रहरीको संघीय इकाई कार्यालय भैरहवा कार्यरत प्रमुख एसएसपी यादव शुक्रबार क्वाटरमा झुण्डिएको अवस्थामा मृत फेला परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
‘उहाँ मृत अवस्थामा फेला परेको हो । अरु थप आएको छैन । घटना सत्य हो,’ केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी बसन्तबहादुर कुँवरले बताए । लुम्बिनी प्रदेश प्रहरी कार्यालयले भने घटना शंकास्पद भएकाले अनुसन्धान थालिएको जनाएको छ ।
घटना स्थलमा प्रहरीको अनुसन्धान टोली पुगिसकेको छ । अन्य प्रहरी कर्मचारीहरु खाजा खान गएको बेला यादव झुण्डिएको अवस्थामा फेला परेको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जानकारी दिएका छन् ।
संघीय प्रंहरी इकाई कार्यालय भैरहवामा कार्यरत यादवलाई केही दिनअघि मात्रै कारवाही गरेको बताइएको छ । घटनाको विस्तृत अनुसन्धान भैरहेको प्रजिअ तिवारीले बताए । उनको मृत्युको कारण खुल्न सकेको छैन ।























