stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

विद्युत् खपत विस्तारको गति यो पटक तीव्र

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । विद्युत् खपत विस्तारको गति यो पटक तीव्र देखिएको छ । गत मङ्सिर अन्तिम साता र गत वर्षको यही समयमा करिब २५ प्रतिशत खपत बढेको देखिएको हो । प्राधिकरणको तथ्याङ्क अनुसार यो अवधिमा करिब ३०० मेगावाट खपत बढेको छ ।

औद्योगिक क्षेत्र सुचारु हुने क्रम बढेको र उद्योगमा विद्युत् आपूर्ति परिमाण र गुणस्तर पनि सुधार गरिएकाले खपतमा तीव्र विस्तार देखिएको हो । यस बाहेक आपूर्ति सुनिश्चित भएपछि घरायसी खपत र जाडो बढेसँगै विद्युत्को आन्तरिक माग ह्वात्तै बढ्न पुगेको हो ।

विद्युतीय चुलो, एयर कन्डिसन लगायत विद्युत्बाट चल्ने घरायसी सामानको प्रयोगमा भएको वृद्धि, ठूला उद्योगलाई उपलब्ध गराइएको पर्याप्तविद्युत् लगायतका कारणले दैनिक रूपमा खपत बढिरहेको आकलन प्राधिकरणको छ ।

प्राधिकरणले कात्तिकको अन्तिमबाट नेपालकै ठूलो सिमेन्ट उद्योग होङ्सीलाई ३० मेगावाट विद्युत् उपलब्ध गराएकाले पनि माग बढेको हो ।

विद्युत्को माग क्षमता (मेगावाट) र ऊर्जा (युनिट) दुवैमा बढिरहेको छ । गत मङ्सिर २७ गते प्रणालीमा विद्युत्को उच्च माग एक हजार ५३९ मेगावाट थियो । यो माग गत वर्षको सोही दिनको एक हजार २१७ मेगावाटको तुलनामा ३२२ मेगावाट बढी हो ।

सार्वजनिक बिदा ९शनिबार० रहेको पुस ३ गतेको पिक डिमान्ड पनि एक हजार ४८४ मेगावाट रेकर्ड गरिएको छ । शनिबार दुई हजार ६१४ मेगावाटरआवर विद्युत् खपत भएको छ ।

विद्युत् बढी खपत हुने काठमाडौँ उपत्यका सहित आसपासको क्षेत्रमा विद्युत् माग पनि ह्वात्तै बढेको प्राधिकरणले जनाएको छ । काठमाडौँ उपत्यकाको विद्युत्को अधिकतम माग ९० मेगावाटको हाराहारीमा वृद्धि भएको छ । गत वर्ष २९३ मेगावाट रहेको काठमाडौँ उपत्यकाको पिक डिमान्ड यस वर्ष ३८२ मेगावाट पुगेको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गत वर्षको तुलनामा यस वर्ष ३० प्रतिशतको हाराहारीमा पिक डिमान्ड बढ्नु ठूलो उपलब्धि भएको बताउनुभयो । घिसिङका अनुसार आगामी असारसम्ममा पिक डिमान्ड दुई हजार मेगावाट पुग्ने अनुमान छ ।

“घरायसी प्रयोजनमा इन्डक्सन चुलो एयर कन्डिसन, उद्योगमा पर्याप्त बिजुली आपूर्ति, चार्जिङ स्टेसन विस्तारसँगै लोडको माग बढिरहेको छ,” कार्यकारी निर्देशक घिसिङले भन्नुभयो, “यही रूपमा वृद्धि भयो भने चालू आर्थिक वर्षको अन्त्यसम्ममा करिब दुई हजार मेगावाटको पुग्ला । ”

घिसिङले उपभोक्तालाई भरपर्दो र गुणस्तरीय विद्युत् उपलब्ध गराएर देशभित्र उत्पादित विद्युत् आन्तरिक रूपमै खपत बढाउने कुरालाई पहिलो प्राथमिकतामा राखी अल्पकालीन र दीर्घकालीन योजनाअन्तर्गत प्रसारण तथा वितरणतर्फका पूर्वाधार विस्तार तथा सुदृढीकरणलाई उच्च प्राथमिकतामा राखी काम अगाडि बढाइएको बताउनुभयो ।

कार्यकारी निर्देशक घिसिङ आफैँले मुलुकभित्रका मुख्य औद्योगिक कोरिडोरको अनुगमन भ्रमण गरी उद्योगीलाई चाहिएजति विद्युत् लिन आग्रह गर्दै आउनुभएको छ ।

प्राधिकरणको अल्पकालीन योजनाअन्तर्गत विद्युत् माग गरेका उद्योगलाई प्रसारण तथा वितरण लाइनको सुदृढीकरण तथा क्षमता विस्तार गरी तत्काल विद्युत् दिने र निर्माणाधीन आयोजनाहरूको काम जतिसक्दो छिटो सम्पन्न गर्ने रहेको छ ।

दीर्घकालीन योजनाअन्तर्गत विद्युत् खपत बढ्न सक्ने सम्भावित ठाउँहरूको पहिचान गरी प्रसारण तथा वितरणतर्फका ठूला क्षमताका लाइन तथा सबस्टेसन निर्माण सुरु गर्ने प्राधिकरणको योजना छ । मुख्य रूपमा औद्योगिक कोरिडोर क्षेत्रको विद्युत् प्रसारण तथा वितरण प्रणालीको सञ्जाल सुधारका लागि बृहत् सुदृढीकरणको काम अगाडि बढाइएको घिसिङको भनाइ छ ।

prabhu mahalaxmi
kumari