एनआरएनएको निर्वाचन तेस्रो पटक स्थगित, विवाद समाधान गर्न चार सदस्यीय समिति गठन
लण्डन। गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचन तेस्रो पटक स्थगित भएको छ । भोलीबाट उम्मेदवारी दर्ता प्रकृया शुरू हुँदै थियो। महाधिवेशन प्रतिनिधिको विवाद समाधान नगरी गर्न खोजिएको निर्वाचनमा उम्मेदवार नै सहभागी नहुने अवस्था आएपछि निर्वाचन कार्यतालिका स्थगित गरिएको एनआरएनएले जनाएको छ। विवाद समाधानका लागि चार सदस्यीय समिति समेत गठन गरिएको छ ।
यसअघि अक्टोबर र नोभेम्बरमा पनि महाधिवेशन प्रतिनिधिको अन्तिम नामावली निर्वाचन समितिलाई उपलब्ध गराउन नसक्दा निर्वाचन स्थगित भएको थियो ।
जुलाईमा भएको एनसिसी चुनावमा विभिन्न देशमा प्रविधिको दुरुपयोग गरिएको र प्रतिनिधि चयन पनि प्रजातान्त्रिक पद्धति अनुसार नगरिएको भन्दै उजुरी परे पनि समाधान हुन सकेको छैन ।
प्रतिनिधि चयन विधान अनुसार नभएको भनी परराष्ट्र मन्त्रालयमा उजुरी परेपछि सरकारले विधान अनुसार प्रतिनिधि चयन गरेर निर्वाचन गर्न निर्देशन दिएको थियो । निर्देशन विरुद्ध संघका अध्यक्ष कुमार पन्त उच्च अदालत पाटन गएका थिए । उच्च अदालत पाटनले अन्तरिम आदेश जारी गरेको थियो ।
दुई तिहाइ एनसीसीले विवाद समाधानको माग गर्दै आएका छन् ।उनीहरुले केन्द्रलाई बुझाउनु पर्ने सदस्यता शुल्क पनि बुझाएका छैनन् ।
निर्वाचन समितिले आह्वान गरेको फेस रिडिङ प्रक्रियामा पनि सदस्य सहभागी नभएको र शुक्रबार आह्वान गरिएको मनोनयनमा कुल आचार्य समूह सहभागी नहुने भएपछि निर्वाचन प्रक्रिया स्थगित गर्नु परेको जनाइएको छ ।























