stcnepal long ad
global ime bank long

अक्सिजन प्लान्ट जडान नहुँदा बजेट फ्रिज

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । सरकारले अस्पताललाई छोटो प्रक्रियाबाट अक्सिजन प्लान्ट जडान गर्ने व्यवस्था गरिदिए पनि सबै अस्पतालले त्यसको उपयोग गर्न सकेका छैनन् ।

कतिपय अस्पतालमा प्लान्ट निर्माणाधीन अवस्थामा छन् भने कतिपय अस्पतालको प्लान्ट खरिद गर्न सरकारले दिएको बजेट पूरै फ्रिज भएको छ । कोरोना महामारीको दोस्रो लहरको समयमा प्रत्येक अस्पतालमा अक्सिजन अभावले गर्दा धेरै सङ्क्रमितको मृत्यु भएको थियो ।

उपचारका क्रममा सङ्क्रमितलाई अक्सिजन अभाव हुने र अक्सिजन नहुँदा सरकारले तत्काल अक्सिजन प्लान्ट निर्माण गर्न भन्दै सरकार मातहत रहेका अस्पताललाई बजेटसमेत विनियोजन गरिएको थियो ।

सार्वजनिक खरिद ऐन मार्फत अक्सिजन प्लान्ट खरिद गर्दा ढिलाइ हुने भएपछि कोभिड–१९ सङ्कट व्यवस्थापन अध्यादेश ल्याएर तोकेको स्पेसिफिकेसन र दर बमोजिम आधिकारिक बिक्रेता वा अन्तर्राष्ट्रिय संस्थासँग सीधै खरिद गर्न सकिने व्यवस्था गरिएको थियो ।

नेपालकै एकमात्र सरुवा रोग अस्पताल शहीद शुक्रराज ट्रपिकल अस्पतालमा अक्सिजन प्लान्ट निर्माण गर्नका लागि सरकारले दिएको तीन करोड रुपियाँ फ्रिज भएको छ । अस्पतालका निर्देशक डा. अनुप बास्तोलाले सरकारले दिएको रकम कत्ति पनि खर्च नभएको जानकारी दिनुभयो ।

उहाँले सरकारले दिनुभन्दा पहिल्यै एक गैरसरकारी संस्थाले टर्कीबाट सीधै अस्पतालमा अक्सिजन प्लान्ट जडान गरिदिएको हुनाले सरकारले छुट्याएको रकम फ्रिज भएको बताउँदै भन्नुभयो, “स्थान तयार गर्न २२ लाख रुपियाँ खर्च भएको छ । ” उहाँले उक्त प्लान्टबाट अक्सिजन उत्पादन हुन थालिसकेको बताउनुभयो ।

अस्पतालका सूचना अधिकारी नवराज गौतमले उक्त प्लान्टबाट दैनिक ११५ देखि १२० सिलिन्डरसम्म अक्सिजन उत्पादन हुने गरेको बताउनुभयो । उहाँले अक्सिजन भर्न छुट्टै प्लान्ट आवश्यक पर्ने भएकाले उक्त प्लान्ट जडान गर्न बाँकी रहेको बताउनुभयो । उहाँले सेन्टर सप्लाईमार्फत अस्पतालमा उत्पादित अक्सिजन बिरामीमा प्रयोग भइरहेको जानकारी दिनुभयो ।

यता स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीले सरकारले अक्सिजन प्लान्ट निर्माणका लागि १०३ वटा अस्पताललाई बजेट विनियोजन गरेको जानकारी दिँदै कतिपय अस्पतालले प्लान्ट निर्माण गरिसकेको र कतिपय अस्पताललाई प्लान्ट निर्माण गर्न दिइएको बजेट फ्रिज भएको बताउनुभयो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले केन्द्रीय अस्पताल, प्रादेशिक र जिल्ला अस्पतालमा कोभिड तथा अन्य रोगको उपचार गर्न सक्ने गरी पूर्वाधार विकास गर्ने भन्दै छ अर्ब ८१ करोड ८५ लाख रुपियाँ विनियोजन गरेको थियो ।

कोरोना महामारीको दोस्रो लहरमा अक्सिजन, भेन्टिलेटर र आईसीयू, एगडीयू शय्या नपाएर सङ्क्रमितको मृत्यु भएपछि कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोषबाट उक्त रकम छुट्याइएको थियो ।

सरकारले वीर अस्पताल, कान्ति बाल अस्पताल, शहीद शुक्रराज ट्रपिकल, शहीद गङ्गालाल, त्रिवि शिक्षण, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, राष्ट्रिय ट्रमा सेन्टर, निजामती अस्पताल, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, भक्तपुर अस्पताललगायतलाई तीन अर्ब ९० करोड १३ लाख रुपियाँ छुट्याएको थियो ।

त्रिवि शिक्षण अस्पतालका निर्देशक डा. दिनेशचन्द्र काफ्लेले अस्पतालमै भर्ना भएका बिरामीका लागि अक्सिजन अभाव नभएको जानकारी दिनुभयो । उहाँले अस्पतालमा चारवटा प्लान्ट यसअघिदेखि नै सञ्चालन भइरहेकाले अभाव नभएको उल्लेख गर्दै सरकारले लिक्विड अक्सिजनका लागि सहयोग गरेको र त्यस्तो अक्सिजन उत्पादन भइरहेको बताउनुभयो ।

सरकारले सहयोग गरेको बजेटबाट अक्सिजन प्लान्ट निर्माण गर्न नसकेको उहाँको भनाइ छ ।
पाटन अस्पतालका निर्देशक रवि शाक्यले अक्सिजन प्लान्ट निर्माण गर्न सुरु गर्दा उजुरी परेकाले समस्या भएको बताउनुभयो ।

यस्तै वीर अस्पतालका निर्देशक डा. भूपेन्द्र बस्नेतले अस्पतालमा यसअघि नै एउटा अक्सिजन प्लान्ट रहेकोमा पछिल्लो पटक नबिल बैङ्कको सहयोगमा थप एउटा अक्सिजन प्लान्ट स्थापना गरिएको जानकारी दिनुभयो । आजको गोरखापत्र दैनिकबाट

IME Lifesidebar
kumari