stcnepal long ad
ime life insurance
national life
global ime bank long

नवरात्रको पाँचौँ दिन स्कन्दमाताको पूजा आराधना गरिँदै

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौँ । नवरात्रको पाँचौँ दिन दशैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी पाँचौँ स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदैछ । प्रत्येक वर्ष आश्विन शुक्ल पञ्चमी अर्थात् दुर्गा पक्षको पाँचौँ दिन स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिन्छ ।

नवरात्रको पहिलो दिन असोज २१ गते बिहीवार दशैँघर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौँको जमरा राखिएको थियो ।

त्यसैदिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरियो । दोस्रो दिन शुक्रवार पूजास्थलमा ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो भने तेस्रो दिन शनिवार चन्द्रघण्टा देवीको निष्ठाका साथ पूजा आराधना गरियो भने चौथो दिन आइतवार कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिएको छ ।

पाँचौँ दिन आज स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदैछ । नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती चण्डी, श्रीमद्देवी भागवत लगायत देवी स्तोत्र पाठसमेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ ।

यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् । नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । यसरी १५ दिनसम्म नेपालीले बडादशैँ पर्व मनाउँछन् ।

पौराणिक ग्रन्थमा स्कन्दमाताका विषयमा कथा वर्णन गरिएको छ । कुनै समय शिव र पार्वती ऋषिहरुका सभामा जाँदा सबैले उठेर स्वागत गरे । ऋषि सनतकुमार ध्यानमा मग्न भएकाले उठेनन् । यो पार्वतीलाई मन परेन ।

पार्वतीले ऋषिलाई ‘तिमी ऊँट बन’ भनी श्राप दिइन् । ऋषि ऊँट बने । शिवले पार्वतीलाई “ज्ञानीलाई कुनै श्रापले स्पर्श गर्न सक्दैन, यसैले ऊँटका योनिमा पनि आफ्नो ब्रह्मस्वरुप ज्ञानले आनन्दमा मस्त छन्” भनी दुवै दम्पती ऊँटधारी सनतकुमारलाई हेर्न गएछन् ।

पार्वतीले ऋषिलाई ऊँटको योनीमा कस्तो अनुभव हुन्छ भनी सोध्दा ऋषिले “मलाई हजुरले ऊँटको योनी प्रदान गरेर ठूलो अनुग्रह गर्नुभयो । भोक लागेका बेला जङ्गलका काँडाहरु चपाउँछु र आनन्दसँग ब्रह्मचिन्तन गरेर बस्छु । मलाई यस योनीमा कुनै पनि कष्टको अनुभव छैन” भनी उत्तर दिएछन् ।

ऋषिको कुराबाट पार्वती प्रभावित हुँदै भनिछन्, ‘ऋषिजी तपाईँ ज्यादै ठूलो ब्रह्मज्ञानी हुनुहुँदोरहेछ, यहाँको महत्व नबुझी मैले दिएको श्रापबाट मलाई ठूलो पश्चात्ताप छ, अब म तपाईँलाई पुत्रका रुपमा प्राप्त गर्न चाहन्छु ।’

पार्वतीको आज्ञालाई स्वीकार गरी सनतकुमारले पार्वतीबाट जन्म ग्रहण गरेकाले स्कन्दमाता नाम रहन गएको भन्ने कथा पाइन्छ । स्कन्दको अर्थ सनतकुमार रहेको छ । स्कन्दमाताको प्रतिमा लक्षणमा यिनी सिंहासनमा बसेकी तथा दुवै हातले कमलपुष्प समाएको हुने विवरण पाइन्छ ।

दुर्गा पक्षसमेत भनिने दशैँको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने गरिन्छ । यिनै नौवटा दुर्गाका रूपलाई नवदुर्गा पनि भनिन्छ ।

नवरात्रमा देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड लाग्ने गरे पनि यस वर्ष कोरोना भाइरसको सङ्क्रमण फैलिरहेकाले धेरै मन्दिर बन्द छन् । भौतिक दूरी अपनाएर स्वास्थ्य सुरक्षाका विधि सहित केही मन्दिर भने खुला गरिएको छ ।

जहाँ भक्तजन पुग्ने गरेका छन् । कोरोनाबाट बच्न स्वास्थ्य सुरक्षाका विधि अपनाएर मात्र मठमन्दिर जाने, खानपिन गरी दशैँ, तिहारजस्ता चाडपर्व मनाउन तीनै तहका सरकारले आह्वान गरेका छन् ।

 

prabhu mahalaxmi
kumari