आज प्रतिनिधि सभाबाट आर्थिक विधेयक पारित हुने
काठमाडौं। संघीय संसदको दुबै सदनको बैठक आज बिहीबार बस्दैछ। राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक दिउँसो २ बजे एकैसाथ सुरु हुनेछ ।
संघीय संसद सचिवालयले बुधबार प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरिसकेको छ । जसअनुसार अर्थमन्त्री जनार्दन शर्माले आर्थिक र राष्ट्र ऋण उठाउने विधेयकमाथि छलफल, संशोधनको प्रस्ताव तथा पारित गर्नका लागि कार्यसुची अनुसार प्रस्तुत गर्नेछन् ।
राष्ट्रियसभामा विनियोजन विधेयक, २०७८ पारित गर्ने तयारी छ । गत मंगलवारको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा९एमाले०का सांसदहरुको विरोधबीच राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालले प्रतिनिधिसभाबाट सन्देश सहित प्राप्त भएको ‘विनियोजन विधेयक, २०७८’ राष्ट्रिय सभा समक्ष टेबुल गरेका थिए ।
एमालेले नवौं अधिवेसन सुरु भएदेखि दुबै सदनमा अवरोध जारी राखेको छ । सरकारले लोकतन्त्र र पार्टीहरुलाई कमजोर बनाउनका लागि राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याएको र एमालेले कारबाही गरेका प्रतिनिधि सभाका १४ जना सांसदहरुको सूचना सभामुखले टाँस नगरी पार्टी विभाजनमा भूमिका खेलेको भन्दै विरोध गरिरहेको छ । आज पनि प्रतिनिधि सभामा नारावाजी जारी राख्ने भएको छ ।
























