कांग्रेसको राजनीति अब डा. शशांक, प्रकाशमान र निधीको वरिपरि घुम्ने
काठमाडौं । नेपाली कांग्रेसमा केही ठाउँमा बाहेक सक्रिय सदस्यको विवाद समाप्त भइसकेको छ । भदौं १२ गतेसम्म विवाद सक्किएको ५३ जिल्लाको सक्रिय सदस्यहरुको मतदाता नामावाली तयार भएर प्रत्येक जिल्लामा निर्वाचन अधिकृत तोकिसकेको छ ।
यही भदौं १८ गते वडा तहको निर्वाचन सम्पन्न गर्न नेपाली कांग्रेस १४ औ महाधिवेशन निर्वाचन समितिले सम्पूर्ण तयारी पुरा गरिसकेको छ ।
शुरुमा वडा तहबाट निर्वाचन हुने भएपनि केन्द्रिय सभापतिका दावेदारहरुले निर्वाचन प्रचारप्रसार गर्न धमाधम सम्पर्क कार्यालयहरु खोलिरहेका छन् । शुक्रबार थापागाउँको बानेश्वर ब्यैङ्कटमा उपसभापति बिमलेन्द्र निधीले आफ्नो सम्पर्क कार्यालय खोलेका छन् ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई लामो समयदेखि सघाउँदै आएका निधीले विद्रोह गरेर आफ्नै टिम बनाएका छन् । भारतले नेपालमा मधेसीमूलका नेताहरुलाई पार्टीको प्रमुख पदमा देख्न चाहनुलाई आश्चर्यको रुपमा लिनु पनि हुँदैन ।
तर भारतको संस्थापन पक्ष धर्मनिरपेक्षताको पक्षमा नभएको र नेपाली कांग्रेस भित्र धर्म निरपेक्षाको पक्षमा वकालत गर्ने नेताको रुपमा चिनिएका निधीलाई भारतीय संस्थापन पक्षले सहयोग नगर्ने लगभग निश्चित छ ।
त्यही भएर धर्मनिपरेक्षताको वकालत गर्ने विमलेन्द्र निधीले साइत देखाएर बिहान नौ बजे सम्पर्क कार्यालयमै पशुपतिनाथ, जानकी, दक्षिणकाली, बंगलामुखी, डोलेश्वर लगायतका धार्मिक स्थलहरुको पुजारी र पण्डितहरु बोलाएर पूजाआजा गरी आशीर्वाद समेत लिन भ्याएका छन् । उनले हिन्दु, मुश्लिम, बौद्ध सबै धर्मका मान्यजनलाई विश्वास गर्नु पर्नेमा यो पटक हिन्दुधर्मका पण्डितहरुलाई मात्र पत्याएको देख्दा मुस्लिम र क्रिश्चियन धर्माबलम्बीहरु जो नेपाली कांग्रेस पार्टीमा आवद्ध भएर मतदाता हुन्छन् उनीहरुले विमलेन्द्र निधीको शुरुवाती चरणमै देखिएको पक्षपातलाई कुन रुपमा लिने हुन भन्न सकिन्न ।
पाल्पाको मिशन अस्पतालमा डाक्टरको रुपमा कार्यरत रहनु भएका शेखर कोइराला जो अहिले नेपाली कांग्रेसको पार्टी सभापतिको रुपमा उम्मेदवारी दिन तत्पर रहेका छन् उनलाई एम.डी. पढ्नका लागि क्रिश्चियन बन्न भनेपछि जागिरबाट राजिनामा दिएर हिडेका थिए ।
हिन्दुधर्मको कट्टर समर्थक रहेका डा. शेखर कोइराला र धर्म निरपेक्षताको कट्टर समर्थक रहेका बिमलेन्द्र निधिमध्ये कसले भारतीय विश्वास जित्न सक्दछ भनेर विश्लेषण गर्दा कोइरालाले नै बाजी मार्न सक्ने देखिन्छ ।
तराई मधेसमा कोइराला परिवारको समर्थक मधेस केन्द्रित नेताहरु नेपाली कांग्रेसमा प्रशस्त रहेका छन् र उनीहरुलाई मधेसको नाम दिएर बिमलेन्द्र निधी प्रति आकर्षित गराउने र कोइराला परिवारको मधेसको भोट काटेर शेरबहादुर देउवालाई १४ औं महाधिवेशनमा सजिलै जित्ने बातावरण बनाइदिन कुनै विदेशी डिजाइनमा बिमलेन्द्र निधीलाई सभापतिमा उठ्न उकासिएको भन्ने अडकल लगाउनेहरु पनि उत्तिकै छन् ।
नेपाली कांग्रेसको सभापतिको प्रतिस्पर्धामा शेरबहादुर देउवा, रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, डा।शशांक कोइराला, डा।शेखर कोइराला, सुजाता कोइराला, गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, कल्याण कुमार गुरुङ्ले आआफ्नो दावी प्रस्तुत गरिरहेका छन् ।
यो दावीलाई हेर्दा कोइराला परिवारका तीन सदस्य भित्र गोप्य सहमति भइसकेको बुझ्न सकिन्छ। जस अनुसार डा। शेखर कोइराला एकमात्र सभापतिका दावेदारको रुपमा बस्ने र अर्कोतर्फ डा. शशांक कोइराला, प्रकाशमान सिंह र बिमलेन्द्र निधिहरु मध्ये एक जनाले विरासतको राजनीति गर्नका लागि तीनमा एक जनामात्र उठ्ने भनेर अन्तिममा डा. शशांक कोइरालाले बिमलेन्द्र निधीलाई समर्थन गरेजस्तो गरेर निधीलाई जसरी पनि शेरबहादुर देउवाको विरुद्ध उठाएर पहिलो निर्वाचनमा नै डा. शेखर कोइराला सभापतिमा विजयी हुने रणनीतिमा गएको हुन कि भन्ने अनुमान गर्नेहरु पनि नेपाली कांग्रेस भित्र प्रशस्त छन् ।
बिमलेन्द्र निधीको पछिल्लो समय भारतको दौडधुप बढेकोले भारतको १२ बुँदे संझौता गरेर नेपालको राजनीतिलाई आजको अवस्थामा ल्याइपुराएका पुराना शक्तिलाई प्रयोग गरी निधीले आफू प्रति आर्शिवाद बढाउन सक्ने अवस्था भने कायमै रहेको छ ।
यस्तो अवस्थामा सबैभन्दा सुनिश्चितता भएको उम्मेदवारका रुपमा चिनिएका शेरबहादुर देउवालाई कमजोर बनाउने रणनीतिमा भारतीय खेमा पनि लागेको प्रष्ट देखिन्छन् ।
यसले देउवा अमेरिकी पक्षधरसँग निकट भएकाले कतै भारतको प्रतिपक्षको समर्थन बिमलेन्द्र निधीलाई र संस्थापन पक्षको समर्थन कोइराला परिवारलाई हुने अवस्था देखिन्छ । यसले अमेरिकाको आर्शिवाद फेरी पनि एकलौटी रुपमा शेरबहादुर देउवाले पाउने निश्चित देखिएको छ ।
यहाँ बाँकी अन्य उम्मेदवारहरु मध्ये रामचन्द्र पौडेललाई राष्ट्रपतिको रुपमा राख्ने की कांग्रेसको महाधिवेशनको माहौल सर्वसम्मतिको गराएर रामचन्द्र पौडेललाई दिने भन्ने कुराको बहस पनि उत्तिकै बढेर गएको छ ।
निर्वाचन भएर जित्न पौडेललाई अप्ठेरो पर्ने भएकोले सर्वसम्मति भए लिने नभए कोइराला परिवारको कुनै एकलाई सहयोग गरेर गएपछि भविष्यमा हुन सक्ने राष्ट्रपतिको भाग पर्खिएर बस्नु बाहेक अर्को विकल्प पौडेलको छैन ।
प्रकाशमान सिंहलाई गणेशमान सिंहको सुपुत्र भएको कारण एकपटक उनलाई पार्टी अध्यक्ष वा प्रधानमन्त्री मध्ये एक बनाउनु पर्दछ भन्ने तर्क दिनेहरुको विचारलाई सम्मान गर्नुपर्ने दिन समेत आइसकेको छ ।
कांग्रेसमा प्रकाशमान पार्टीको भावी उपसभापति र सभामुख सर्वसम्मत रूपमा हुने देखिन्छ। प्रधानमन्त्रीमा कोसिस गरे बन्ने स्थिति बन्न सक्छ। डा. शशांक पनि उपसभापति वा महामन्त्री मै दोहोराउन पनि सक्छन्। यसैले अब कांग्रेसको राजनीति डा.शशांक,प्रकाशमान र निधीकै वरिपरि घुम्ने अवस्था देखिएको छ। ( नरोत्तम सुबेदीबाट)























