देउवा पक्षका जिल्ला सभापतिको भेला
Nepali Congress President Sher Bahadur Deuba and senior leader Ram Chandra Paudel attending a party's meeting in Nayabaneshwor, Kathmandu, on Tuesday, August 23, 2016. Photo: RSS
काठमाडौं । पार्टीको १४औं महाधिवेशन गर्ने कार्यतालिका फेरि परिवर्तन हुने निश्चित देखिएपछि सत्तारूढ नेपाली कांग्रेसको संस्थापन पक्षका जिल्ला सभापतिहरू पनि ललितपुरमा आजबाट छलफलमा जुटेका छन्।
निर्धारित कार्यतालिका भदौ १६–१९ मा महाधिवेशन सम्पन्न गर्ने तयारी नगरेको आरोप लगाउँदै कांग्रेसको संस्थापन इतर समूहका ३९ जिल्ला सभापतिहरूले प्रधानमन्त्री समेत रहेका सभापति शेरबहादुर देउवा विरुद्ध काठमाडौंको ठमेलमा गत साउन २५ र २६ गते भेला गरेपछि उनीहरूले त्यस विरुद्ध ‘काउन्टर’ भेला गर्न गरेका छन्। त्यसका लागि काठमाडौं उपत्यकामा उपलब्ध देउवा पक्षीय जिल्ला सभापतिहरू ललितपुरको एक होटलमा भेला भइरहेका छन्।
वरिष्ठ नेता रामचन्द्र पौडेल निकट जिल्ला सभापतिहरूले समयमा महाधिवेशन नहुनुमा सभापति देउवालाई मात्रै दोष लागएपछि आफूहरू त्यसको प्रतिवादस्वरूप छलफलमा जुटेको कांग्रेसका एक जिल्ला सभापतिले बताए।
वरिष्ठ नेता रामचन्द्र पौडेल नजिक भनिएका साथीहरूले भेला गरेर महाधिवेशन नहुनुमा सभापति शेरबहादुर देउवालाई मात्रै दोषी भएजस्तो गरेका थिए ।
तर, महाधिवेशन नहुनुमा सभापति देउवाको ६० प्रतिशत र रामचन्द्र पौडेलको पनि उत्तिकै दोषी वा ४० प्रतिशत दोषी छन् । उहाँले सात जिल्लाका क्रियाशील सदस्यता र पार्टी समायोजनमा बखेडा झिक्नुभएको छ। त्यो प्रमाणित गर्न संस्थापन पक्षका सभापति छलफलमा जुटेका छन।
अब पौडेलका कर्तुत र देउवालाई सहज रूपमा पार्टी चलाउन नदिएर जे मा पनि ४० प्रतिशत हिस्सा खोज्ने र नभएमा नाम सिफारिस नगर्ने प्रवृत्तिको पनि भण्डाफोर गरिने भएको छ। संस्थापन जिल्ला सभापतिहरूको भेलाले देउवाको ‘डिफेन्स’ गर्नु मुख्य उद्देश्य रहेको छ।
सभापति शेरबहादुर देउवाको डिफेन्स भेला भएको छ । रामचन्द्र पौडेलको समूहले बखेडा झिक्ने अनि देउवा दाइलाई मात्रै दोष दिन मिल्छ रु भन्ने प्रश्न उठाइदैछ ।
यसअघि गत सोमबार र मंगलबार पौडेल समूहका सभापतिहरू ठमेलको एक होटलमा भेला भएका थिए। उनीहरूले पौडेल समूहका सबै शीर्ष नेताहरूलाई बोलाएर भेलाको समापन गरेका थिए।

























