citizens life insurance long ad
stcnepal long ad

काठमाडौँ नगरवासीका लागि सैनिक अस्पतालमा निःशुल्क हेमोडाइलाइसिस सेवा

Nimb long ad
Prabhu Insurance Long Ad

 

काठमाडौँ महानगरपालिकाको आर्थिक सहयोगमा छाउनी अस्पतालमा निःशुल्क हेमोडायलाइसिस सेवा सुरु
‘स्वस्थ मिर्गौला–स्वस्थ काठमाडौं’ हाम्रो अभियानः मेयर शाक्य

काठमाडौँ । वीरेन्द्र अस्पताल छाउनीमा महानगरवासी मृगौला रोगीका लागि निःशुल्क हेमोडाइलाइसिस सेवा सुरु भएको छ । काठमाडौं महानगरपालिकाको आर्थिक सहयोग र नेपाली सेनाको व्यवस्थापनमा वीरेन्द्र अस्पताल छाउनीमा यो सेवा सुरु भएको हो ।

आज काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र प्रधान सेनापति पुर्णचन्द्र थापाले संयुक्त रुपमा निःशुल्क हेमोडाइलाइसिस सेवाको शुभारम्भ गर्नुभयो ।
त्यस अवसरमा महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली, सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेत, प्रवक्ता एवं वडा १५ का अध्यक्ष ईश्वरमान डंगोल, सहरी योजना आयोगका सदस्यहरु तथा जनस्वास्थ्य तथा खाद्य पदार्थ नियमन विभागका अधिकारीहरु सहभागी हुनुहुन्थ्यो ।

यस प्रकारको सेवा सञ्चालनका लागि आवश्यक भौतिक पूर्वाधार, ८ ओटा हेमोडायलाइसिस मेसिन, एउटा रिप्रोसेसिङ मेसिन, पानी शुद्धीकरण प्लान्ट र अन्य मेडिकल उपकरणहरू जडान गर्न महानगरले अस्पताललाई ३ करोड रुपैयाँ अनुदान उपलब्ध गराएको छ । यससम्बन्धि सहकार्यका लागि महानगरपालिका र अस्पतालबिच वि. सं. ०७६ पुस २ गते सम्झौता गरेको थियो । सम्झौता ५ वर्षका लागि हो ।

सम्झौता अनुसार जडान गरिएका ८ वटा हेमोडायलाइसिस मेसिनबाट रहेक हप्ता दुई सिफ्टमा सेवा सञ्चालन गर्न सकिन्छ । तत्कालका लागि ४८ जना विरामीलाई साताको २ पटक सेवा प्रदान सकिन्छ । अस्पतालका प्रमुख सहायक रथी डाक्टर अरुण शर्मा भन्नुहुन्छ, सेवा लिन आउने विरामीले महानगरले दिएको शिफारिसका साथ आउनुपर्छ । यो सेवा विपन्न र सेरोनेगेटिभ दीर्घ चरणको मृगौला रोगी, क्रोनिक किड्नी डिजिज स्टेज – ५ पुगिसकेकाहरुका लागि हो ।
मिर्गौलाले काम नगरेको अवस्थामा सरीरमा जम्मा भएको दुषित पदार्थहरु सरीरबाट बाहिर निकालेर स्वस्थ बनाउने विधि डायलाईसिस हो ।

‘काठमाडौँ महानगरपालिकाले आफ्नो नीति तथा कार्यक्रममै अस्पताल सञ्चालन गर्ने उल्लेख गरेको छ । ‘तर, तत्कालका लागि त्यो सम्भव नभएपछि हामीले जोसँग विशेषज्ञ सेवा छ, उसैसँग सहकार्य गरेर महानगरवासीलाई स्वास्थ्य सेवा दिने प्रयास गरेका हौँ ।’ शुभारम्भपछि प्रतिक्रिया दिँदै महानगरका प्रमुख शाक्यले भन्नुभयो, ‘ हामीले यस अघि पनि नेपाली सेनासँगको सहकार्यमा सरसफाइ, वृक्षारोपणलगायतका काम गरेका छौँ । अहिले सञ्चालन गरेको यो सेवासँगै अस्पतालबाट महानगरवासीले हेमोडाइलाइसिसको सहज र स्तरीय सेवा प्राप्त गर्नेछन् भन्नेमा विश्वस्त छु ।’

प्रमुख शाक्यले काठमाडौं महानगरपालिकाले मिर्गौला सम्बन्धी रोग लाग्नु भन्दा अगावै त्यसलाई रोक्न वा रोग लागिसकेको भए थप बिग्रन नदिन यसै वर्षदेखि ‘स्वस्थ मिर्गौला–स्वस्थ काठमाडौं’ कार्यक्रम सुरु भइसकेको बताउनुभयो । ‘मिर्गौला बचाउ अभियान नामक संस्थासँग सहकार्य गरी महानगरपालिकाका ३२ वटै वडाहरूमा उक्त कार्यक्रम सञ्चालन गरिएको छ,’ उहाँले भन्नुभयो, नियमित स्वास्थ्य सेवाका अतिरिक्त महामारीका समयमा स्वास्थ्य सेवामा कमी हुन नदिन हामीले सरकारी र सामुदायिक अस्पतालको भौतिक संरचना, उपकरण र जनशक्ति व्यवस्थापनका लागि सहयोग गरेका छौँ ।

यस क्रममा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताललाई १५, त्रि.वि. शिक्षण अस्पताललाई १०, शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई ५, छत्रपाटी निःशुल्क चिकित्सालयलाई ४, नेपाल कोरिया मैत्री नगरपालिका अस्पताललाई ३, महेन्द्र नारायण निधि मेमोरियल अस्पताललाई २, हेल्पिङ्ग ह्याण्ड्स सामुदायिक अस्पताललाई २, जनस्वास्थ्य सरोकार ट्रष्ट काठमाडौं मोडल अस्पताललाई २ र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई २ थान भेन्टिलेटर सहयोग गरिएको छ । यो सहकार्यसँगै सम्पूर्ण खर्च महानगरपालिकाले व्यहोर्ने गरी छत्रपाटीस्थित निःशुल्क चिकित्सालयलाई ३५ शैयाको विशेष कोभिड अस्पताल बनाइएको छ । एक सय वर्ष भन्दा पनि पुरानो अस्पताल नरदेवी आयुर्वेदिक अस्पताललाई पनि आइसोलेसन सेन्टरका रुपमा विकास गरिएको छ ।

काठमाडौँ महानगरपालिकासँग भगिनी सम्वन्ध स्थापित विदेशका विभिन्न नगरहरुले कोभिड नियन्त्रण र रोकथामका लागि उपलब्ध गराएका स्वास्थ्य सामाग्रीसमेत विभिन्न अस्पताललाई वितरण गरिएको प्रमुख शाक्यको भनाइ छ ।

वीर अस्पताल, कान्तिवाल अस्पताल र थापाथलीस्थित परोपकार प्रसुति तथा स्त्री रोग अस्पताललाई पीसीआर मेसिनसहितका अत्यावश्यक सामग्री दिइएको छ । महानरपालिकाको आर्थिक सहयोगमा बसुन्धरास्थित राधास्वाभी सत्संग भवनमा निःशुल्क आइसोलेसन तथा अक्सिजन थेरापी सेन्टर सञ्चालनमा छ । त्रिवि शिक्षण अस्पताललाई अत्याधुनिक सीटी क्यान मेसिन खरिदका लागि आर्थिक अनुदान दिइएको छ ।

सेवा सञ्चालन गर्न अस्पतालमा छुट्टै युनिट निर्माण गरिएको छ । यस्तै उपचारमा सम्लग्न १ जना एमबीबीएस डाक्टर, ३ जना स्टाफ नर्स, १ जना हेमोडायलाइसिस प्राविधिक, १ जना प्रशासन हेर्ने अधिकारी र १ जना सफाई कर्मचारी गरी जम्मा ७ जना जनशक्तिको लागि तलब खर्च महानगरले व्यहोर्ने सहमतिमा उल्लेख छ ।

अहिले देशभरिका ६५ वटा अस्पतालहरूमा चालु रहेका ४ सय ९८ वटा डायलासिस मेसिनबाट ३ हजार ५ सय १६ जना विपन्न वर्गका विरामीहरूले निःशुल्क हेमोडायलाइसिस सेवा प्राप्त गरिरहेको तथ्याङ्क छ । निःशुल्क डायलाइसिस गर्दा राज्यले प्रति विरामी वार्षिक २ लाख ६० हजार रुपैयाँ खर्च व्यहोरिरहेको छ । नेपालमा हरेक वर्ष २ हजार ६ सय जना मिर्गौलाका नयाँ विरामीहरू थपिरहेको सरकारी तथ्यांक छ ।

 

 

 

 

 

IME Life
kumari