citizens life insurance long ad
stcnepal long ad

स्वास्थ्य मापदण्ड पालनामा कडाइ

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ  । काठमाडौँ उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको नयाँ भेरियन्ट बढेसँगै स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पूर्ण रूपमा पालना गर्न निर्देशन दिएको छ ।
काठमाडौँ, ललितपुर र भक्तपुर जिल्ला कोभिड कन्ट्रोल व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को मङ्गलबार बसेको छुट्टाछुट्टै बैठकले आदेशको अवज्ञा गर्ने तथा कार्यान्वयन नगर्ने व्यक्ति वा संस्थालाई सङ्क्रामक रोग ऐन, २०२० बमोजिम कारबाही एवं सजाय हुने जनाएको छ ।

उपत्यकामा सञ्चालित होटल तथा रेस्टुराँहरू बिहान ८ देखि साँझ ८ बजेसम्म मात्र सञ्चालन गर्न निर्देशन दिएको छ । ‘मास्क’ प्रयोग नगरेका व्यक्तिलाई सरकारी तथा गैरसरकारी कार्यालय, सार्वजनिक यातायात, होटल तथा रेस्टुराँ, बैङ्क र पसल प्रवेश निषेध गरिएको छ ।

लामो दूरीका सार्वजनिक सवारी साधनहरूमा बीच बाटोमा थप यात्रु चढाउने र ओराल्ने कार्यमा रोक लगाई सुरुको गन्तव्यदेखि अन्तिम गन्तव्यसम्म पुग्ने यात्रुको विवरण सम्बन्धित प्रशासन कार्यालयमा बुझाउन आग्रह गरेको छ ।

काठमाडौँ उपत्यका भित्र आवतजावत गर्ने सर्वसाधारण नागरिकका लागि मास्कबिनाको यात्रामा रोक लगाइएको छ । दैनिक रूपमा सवारी साधन निःसङ्क्रमित गर्नुका साथै चालक र सहचालकलाई मास्क, भाइजर र सेनिटाइजरको प्रयोग अनिवार्य गरिएको छ । सार्वजनिक यातायातका साधनमा स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्डको पूर्ण पालना नगरी सिट क्षमताभन्दा बढी यात्रु राख्ने सवारी साधन र चालकलाई कारबाही हुने जिल्ला प्रशासन कार्यालय काठमाडौँले जनाएको हो ।

घर–कोठाबाट बाहिर निस्कँदा सेनिटाइजर र मास्कको प्रयोग अनिवार्य गरिएको छ । त्यस्तै मठ–मन्दिर, गुम्बा, चर्च र मस्जिद लगायतका धार्मिक स्थलहरूमा नित्य पूजा, ध्यान र प्रार्थनाबाहेक अन्य धार्मिक गतिविधि सञ्चालनमा रोक लगाइएको छ ।

पच्चीस जनाभन्दा बढीको उपस्थितिमा गरिने कुनै पनि औपचारिक कार्यक्रममा सामाजिक दूरी पालना गर्न आग्रह गरिएको छ ।
विभिन्न सपिङ मल, सुपरमार्केट र डिपार्टमेन्ट स्टोरहरूलाई २५ जनाभन्दा बढी भीडभाड नगर्न नगराउन आग्रह गरेको छ । बाक्लो भीडभाड लाग्ने मनोरन्जस्थल, जिम क्लब, रात्रिकालीन व्यवसाय, खेलकुदलगायतका गतिविधि वैशाख मसान्तसम्मका लागि बन्द गरिएका छन् ।

विद्यालय तथा कलेजहरूलाई भर्चुअल वा वैकल्पिक शिक्षण सिकाइ विधि अपनाउन र विश्वविद्यालय तथा कलेजबाट सञ्चालित पूर्वनिर्धारित परीक्षा कार्यक्रमहरू सामाजिक दूरी तथा स्वास्थ्य सुरक्षा मापदण्ड अपनाइ सञ्चालन गर्न आग्रह गरेको छ ।

सामाजिक संस्कार तथा पर्व मनाउँदा एकाघरको परिवारले घर कम्पाउन्डभित्र अनुमति लिनुपर्ने छैन तर पार्टी प्यालेसमा भने २५ जनासम्मको उपस्थितिमा मनाउँदा पनि सम्बन्धित जिल्ला प्रशासन कार्यालयको अनुमति लिनुपर्ने छ ।

काठमाडौँ जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले घर आँगन, कार्यालय तथा सडक किनारा र सार्वजनिक स्थानमा जथाभावी थुक्ने, फोहोर गर्ने, प्रयोग गरिएका मास्क फाल्नेलाई कारबाही हुने चेतावनी दिनुभयो ।

पीसीआर गर्न दिएकाले परीक्षणको रिपोर्ट नआएसम्म आफखुसी हिँडडुल, भेटघाट र बैठक नगर्न नगराउन निर्देशन दिँदै जिल्ला प्रशासन कार्यालय ललितपुरले होम आइसोलेसनमा बसेका सङ्क्रमितलाई चिकित्सकको नियमित सम्पर्कमा बस्न आग्रह गरेको छ । त्यस्तै, स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड र सामाजिक दूरी पालना भए नभएको अनुगमन गर्न र मास्क प्रयोग नगर्ने विरुद्ध कारबाहीका लागि जिल्ला प्रशासन कार्यालयका अतिरिक्त प्रहरी, स्थानीय जनप्रतिनिधि, कर्मचारी र सामाजिक सङ्घसंस्थालाई परिचालन गरिएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा देवबहादुर कुँवरले लेखेका छन ।

IME Life
kumari