stcnepal long ad
global ime bank long

ब्रोकर छान्ने व्यवस्था गर्दै धितोपत्र बोर्ड

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । पुँजी बजारको नियामक निकाय धितोपत्र बोर्डबाटै शेयर ब्रोकर छान्ने व्यवस्था गर्न लागिएको छ । धितोपत्र बजार (हाल नेपाल स्टक एक्सचेन्ज ) (नेप्से ) ले शेयर ब्रोकर छानेर अनुमतिपत्रका लागि बोर्डमा सिफारिस गर्नुपर्ने व्यवस्था परिमार्जन गरेर छनोटको सबै अधिकार बोर्डमा ल्याउने तयारी भएको स्रोतले बताएको छ ।

आफूले अनुमति दिएको संस्थाले ब्रोकर छान्ने, अनुमतिपत्रका लागि सिफारिस गर्ने र सोहीबमोजिम नियामक निकायले लाइसेन्स बाँड्ने व्यवस्था उपयुक्त नभएकाले धितोपत्र व्यवसायी ९धितोपत्र दलाल तथा धितोपत्र व्यापारी० नियमावली, २०६४ परिमार्जन गर्न लागिएको स्रोतले जनाएको छ ।

‘नियमावली परिमार्जन गर्न छलफल सुरु भएको छ, अन्तिम टुंगो लाग्न बाँकी छ,’ स्रोतले भन्यो, ‘हाल नेप्सेले ब्रोकरको संख्या यकिन गर्ने व्यवस्था छ । त्यसमा सुधार गर्न लागेका हौं ।

नेप्सेले छानेको कम्पनीलाई बोर्डले आँखा चिम्लेर लाइसेन्स दिने भन्ने पनि त भएन ।’ यस सम्बन्धमा खासगरी तीन विषयमा छलफल भइरहेको बताइएको छ । पहिलो, नेप्से बोर्डबाट अनुमति प्राप्त संस्था हो ।

आफूले लाइसेन्स दिएको संस्थाले ब्रोकरको संख्या यकिन गरेपछि मात्र बोर्डले अनमुतिपत्र बाँड्ने भन्ने हुँदैन । आफूले लाइसेन्स बाँड्ने संस्था छान्ने जिम्मेवारी पनि नियामक निकायको हो । यसकारण यो मिलेको छैन ।

धितोपत्र नियमावली, २०६४ मा नेप्से (धितोपत्र बजार ) ले बजारको आवश्यकता अनुसार ब्रोकरको संख्या यकिन गर्ने व्यवस्था छ । ‘धितोपत्र बजारले उपलब्ध भौतिक सुविधा, धितोपत्र बजारको आवश्यकता तथा धितोपत्रको प्रतिस्पर्धी बजार निर्माण पक्षलाई दृष्टिगत गरी थप्नुपर्ने धितोपत्र दलाल र धितोपत्र व्यापारीको संख्या यकिन गर्ने,’ नियमावलीमा उल्लेख छ ।

दोस्रो, नेप्सेले ब्रोकरका लागि आवेदन माग्दा त्यो कम्पनी कर कार्यालय, कम्पनी रजिस्ट्रारको कार्यालयलगायत धेरै स्थानमा दर्ता हुनुपर्ने व्यवस्था छ । यसरी आवेदन पाएका सबैले लाइसेन्स पाउने भन्ने हुँदैन । लाइसेन्स नपाउने कम्पनी खारेजीमा जानुपर्छ । त्यो व्यवस्था जटिल र झन्झटिलो छ । यसकारण लाइसेन्स कम्पनीहरूलाई सुरुमा दुःख दिनु राम्रो होइन ।

तेस्रो, आफूले नियमन गर्ने संस्थालाई लाइसेन्स दिने काम पनि बोर्डको हो । अहिले यो अधिकारी बोर्डसँग छैन । यसकारण आफ्नो अधिकारी फर्काउन मात्र थालिएको हो । ‘अन्तर्राष्ट्रिय स्तरमा स्टक एक्सचेञ्जले ब्रोकर सिफारिससम्म गर्न सक्छन् ।

ब्रोकरलाई आफ्नो कारोबार प्रणालीमा समावेश गर्नुपर्ने भएकाले यस्तो प्रावधान दिइएको हुन्छ,’ बोर्ड स्रोतले भन्यो, ‘तर नेपालमा संख्या नै यकिन गर्ने अधिकार दिइएको छ । त्यो उपयुक्त छैन । सोही नीतिगत व्यवस्थालाई सुधार गर्न लागिएको हो ।’

नियमावलीको दफा ३ मा ब्रोकर कम्पनीको अनुमति सम्बन्धी व्यवस्था छ । त्यसमा धितोपत्र दलाल र धितोपत्र व्यापारीका रूपमा धितोपत्र व्यवसाय गर्न चाहनेले अनुमतिपत्र प्राप्त गर्न तोकिएको ढाँचामा निवेदन दस्तुर संलग्न गरी धितोपत्र बजार (नेप्से ) को सिफारिस सहित बोर्ड समक्ष निवेदन दिनुपर्ने प्रावधान नियमावलीमा छ ।

यसअनुसार धितोपत्र बजारले उपलब्ध भौतिक सुविधा, धितोपत्र बजारको आवश्यकता तथा प्रतिस्पर्धी बजार निर्माण पक्षलाई दृष्टिगत गरी थप्नुपर्ने धितोपत्र दलाल र धितोपत्र व्यापारीको संख्या यकिन गर्ने सिफारिस गर्ने व्यवस्था नियमावलीमा छ ।

ब्रोकर लाइसेन्सका लागि संस्थापक, सञ्चालक तथा कार्यकारी प्रमुखको पूर्ण विवरण, निवेदक कम्पनी वा संगठित संस्थाको विवरण तथा कागजात, कुनै कम्पनी वा संगठित संस्था धितोपत्र व्यापारीको संस्थापक भए उक्त कम्पनी वा संगठित संस्थाको विवरण तथा कागजात, धितोपत्र दलालको स्वामित्व ग्रहण गर्ने व्यक्तिको लगानीको स्रोतसम्बन्धी विवरणलगायत कागजात पेस गर्नुपर्ने व्यवस्था पनि छ । आजको कान्तिपुर दैनिकबाट

IME Lifesidebar
kumari