stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

सुधारको लयमा पर्वतारोहण

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । कोरोना सङ्क्रमणले थला परेको पर्यटन क्षेत्र यतिबेला आन्तरिक पर्यटकीय गतिविधिले भए पनि बिस्तारै जुर्मराउँदैछ तर कोरोनाकै दोस्रो लहरको चर्चाबीच आन्तरिक पर्यटन विस्तार हुने नहुने चिन्तामा व्यवसायी छन् ।

विदेशी पर्यटकको दरिलो आश भने उनीहरूलाई तत्काल छैन । यस्तो परिस्थितिबीच पनि विदेशी पर्यटकले नै आशा जगाइदिएको क्षेत्र बनेको छ, पर्वतारोहण । कोरोना सङ्क्रमणकै त्रासबीच पनि विदेशी पर्यटक स्वागत गरिरहेको नेपालको पर्वतारोहण क्षेत्र यतिबेला राहतको अवस्थामा पुगेको छ ।

पर्यटन विभागको शनिबारसम्मको तथ्याङ्क अनुसार विभिन्न हिमाल आरोहणका लागि अनुमति लिनेको सङ्ख्या २१७ पुगेको छ । विभागले गत फागुन २५ गते चालू वसन्तयामका लागि पहिलो पटक चार जनाको एक टोलीलाई आरोहण अनुमति प्रदान गरेको थियो ।

त्यसको एक महिना नपुग्दै पर्वतारोहणको अनुमति लिनेको सङ्ख्यामा सुधार भइरहेको विभागका महानिर्देशक रुद्रसिंह तामाङले बताउनुभयो । “कोरोनाअघिकै अवस्थामा त आइसकेको छैन,” उहाँले भन्नुभयो, “तर विगतका वर्षको अवस्थामा पर्वतारोहण क्षेत्रमा सामान्य सुधार भने देखिन्छ । ”

विभागका अनुसार सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि शनिबारसम्म १०७ जनाले अनुमति लिएका छन् । शनिबार मात्रै दुई वटा आरोहण टोलीका गरेर २४ जनाले सगरमाथा आरोहण अनुमति पाएको विभागले जनाएको छ । गत वर्ष मुख्य सिजनमै सगरमाथा आरोहण रोकिएको थियो ।

सगरमाथा आरोहण नहुने विषयलाई विश्वका चर्चित सञ्चार माध्यमले पनि प्राथमिकतासाथ प्रकाशन गरेका थिए । विभागले यो सिजनमा कोरोनाअघिकै अवस्थामा सगरमाथा आरोहण नभए पनि करिब तीन सय जनाले अनुमति लिने अनुमान गरेको छ । “अहिले पनि अनुमति प्रदान गर्ने क्रम जारी छ,” महानिर्देशक तामाङले भन्नुभयो, “कोरोनाअघिकै अवस्था नभए पनि तीन सयको हाराहारीमा अनुमति लिनसक्ने सम्भावना छ । ”

सगरमाथा बाहेक मनास्लु, अन्नपूर्ण, ल्होत्से, टुकुचे, धौलागिरि, पुमरी हिमाल आरोहणका लागि पनि विभागले अनुमति जारी गरेको छ । यस बाहेक नेपाल पर्वतारोहण सङ्घले अनुमति जारी गर्नसक्ने कम उचाइका हिमालमा पनि आरोहणका लागि अनुमति प्रदान गर्ने काम भइरहेको छ ।

त्यसरी प्रदान गरिएको अनुमति विगतकै हाराहारीमा नभए पनि पर्वतारोहणमा भने सुधार आएको हिसाबले बुझ्न सकिने सङ्घका अध्यक्ष सन्तवीर लामाले बताउनुभयो । पर्वतारोहणका लागि अझै पनि कतिपय प्रावधानले चुनौती थपे पनि लामो बिदा सहित पर्यटक आउने भएकाले व्यवसायमा पनि केही सुधार भएको उहाँले जानकारी दिनुभयो ।

“कोरोनाअघिकै अवस्थामा पुग्न त तीन÷चार वर्ष लाग्ला,” उहाँले भन्नुभयो, “तर बन्द हुनुभन्दा त अहिलेको अवस्थाले सामान्य भए पनि व्यवसाय थेग्न सकिने अवस्था बनेको छ । ” पर्वतारोहणको चहलपहलले आरोहण क्षेत्रमा रोजगारी गुमाएकालाई पनि राहत पुगेको उहाँले बताउनुभयो ।

विभागका अनुसार मनास्लु हिमाल आरोहणका लागि अहिलेसम्म एक जनाले मात्र अनुमति पाएका छन् ।
त्यस्तै अन्नपूर्ण हिमाल आरोहणका लागि चार टोलीबाट ४४ जनाले अनुमति पाएका छन् । ल्होत्से हिमालका लागि सात जनासहितको दुइटा टोलीलाई विभागले अनुमति जारी गरेको छ ।

पुमरी हिमालमा पाँच जनासहितको एक टोली र टुकुचेका हिमालमा एक जनाको एउटा टोलीले आरोहण अनुमति पाएको छ । विभागका अनुसार शनिबारसम्म २७ वटा टोलीले आरोहण अनुमति पाएका छन् ।

यी सबै टोलीमा १५७ जना पुरुष र ६० जना महिला सदस्य छन् । हिमाल आरोहण अनुमतिबापत सरकारले शनिबारसम्म १८ करोड ९० लाख रुपियाँ रोयल्टी सङ्कलन गरेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा विश्वास रेग्मीले लेखेका छन ।

prabhu mahalaxmi
kumari