stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

मसिनो चामल किन्दै खाद्य कम्पनी

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले करिब पाँच हजार मेट्रिक टन मसिनो चामल खरिद गर्ने प्रक्रिया सुुरु गरेको छ । कम्पनीले लिएको लक्ष्यअनुसार मसिनो जातको धान खरिद गर्न नसकेपछि त्यसको अभाव पूर्ति गर्न चामल खरिद थालेको हो ।

कम्पनीले विभिन्न नौ स्थानबाट चामल खरिद गर्न टेन्डर समेत आह्वान गरिसकेको जनाएको छ । कम्पनीका सूचना अधिकारी शर्मिला सुवेदीले कम्पनीले तत्कालको अभाव पूर्ति गराउन चार हजार ५७० मेट्रिक टन चामल खरिद गर्न लागेको जानकारी दिनुुभयो ।

उहाँले कम्पनीले यस पटक सुरु गरेको धान खरिदका क्रममा मसिना धान असाध्यै कम मात्रै खरिद भएकाले यसलाई पूर्ति गर्न चामल खरिद गर्न लागिएको जानकारी दिनुभयो । उहाँका अनुसार अहिले बजारमा व्यावसायिक रूपमा बढी बिक्री हुने स्टिम जीरा, स्टिम रञ्जित, काला लुनिया, सामा मनसुली, मार्सी, बासमतीलगायतका चामल खरिद गरिनेछ ।

कम्पनीको मुख्य कार्यालय, प्रादेशिक कार्यालय र शाखा कार्यालयका लागि स्टिम जीरा, बासमती, काला नुनिया र मार्सी गरी पाँच हजार मेट्रिक टन चामल खरिद गर्न लागिएको हो ।

कम्पनीले सरकारले गत असारमा तोकेको समर्थन मूल्यअनुसार विभिन्न जिल्लाबाट धान खरिद जारी राखेको छ । हाल कम्पनीसँग मौज्दातमा धान, गहुँ र चामल गरी ३३ हजार ४१४ मेट्रिक टन खाद्यान्न रहेको पनि उहाँले जानकारी दिनुभयो । उहाँले लक्ष्यअनुसार धान खरिद गर्न नसकेपछि खाद्यान्न स्टक बढाउन चामल खरिदको प्रक्रिया सुरु गरेको जानकारी दिनुुभयो ।

धान खरिदको लक्ष्य प्राप्त नहुने
कम्पनीले यो वर्ष ६० हजार मेट्रिक टन धान खरिद गर्ने लक्ष्य रहे पनि धान नै नपाएकाले अहिलेसम्म २५ हजार पाँच सय मेट्रिक टन खरिद गरिसकेको कम्पनीका सूचना अधिकारी सुवेदीले जानकारी दिनुभयो ।

उहाँले यस पटक लक्ष्यको आधा ३० हजार मेट्रिक टनभन्दा बढी धान खरिद गर्न सक्ने अवस्था नरहेको बताउनुभयो । कम्पनीका अनुसार अहिलेसम्म खरिद गरेकोमा सबैभन्दा बढी मोटा धान १४ हजार मेट्रिक टन रहेको जनाएको छ भने मध्यम धान ११ हजार मेट्रिक टन लगभग खरिद गरिएको छ ।

सरकारले मोटा धानको मूल्य प्रतिक्विन्टल दुई हजार ७३५ रुपियाँ र मध्यम धानको दुई हजार ८८५ रुपियाँ तोकेको थियो ।

यस्तै कम्पनीले यो वर्ष २५ हजार मेट्रिक टन चामल खरिदका लागि करिब एक अर्ब २६ करोड ९२ लाख रुपियाँ छुट्याएको छ ।यो समाचार आजको गोरखापत्र दैनिकमा सीता शर्माले लेखेका छन

 

prabhu mahalaxmi
kumari