citizens life insurance long ad
stcnepal long ad

धमाधम पर्यटकीय पूर्वाधार

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौंस्थित मुलुककै एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग ४० वर्षपछि कोरोना सङ्क्रमणकै अवस्थाबीच सम्पन्न भयो । विमानस्थल स्तरोन्नतिको काम सरकारले कोरोनाका कारण बन्दाबन्दी रहे पनि जारी राख्यो । अहिले उक्त काममध्ये अधिकांश काम सम्पन्न भइसकेको छ ।

त्यस्तै विमानस्थल विस्तार आयोजनाको दोस्रो चरणको काम पनि सुरु भइसकेको छ । विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनलमा थप सुधार ल्याउँदै आवागमन सजिलो बनाइएको छ । त्यस्तै बोर्डिङ पासको क्रममा भीडलाई मध्यनजर गर्दै छुट्टै यात्रुकक्ष निर्माणको काम भइरहेको छ । विदेशीलाई स्वागत गर्ने मूलढोका समेत मानिने यो विममानस्थलमा नेपाली कला संस्कृति झल्कने गरी बुटिङ विमानस्थलको रुपमा स्थापित गर्ने तयारीका कामहरु निरन्तर भइरहेका छन् ।

हवाई यात्रुको चापमा अत्यधिक वृद्धि हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल एक्लैले यात्रु थेग्ने क्षमता कम हुँदै गएको छ । यस्तोमा सरकारले राष्ट्रिय गौरवका आयोजनाकै रुपमा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण र सञ्चालन तथा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कामलाई निरन्तर प्राथमिकतामा राख्दै आएको छ ।

देशकै ठूलो अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाका रुपमा निजगढमा विमानस्थल बनाउने दृढ अठोटका साथ सरकार लागिरहेको छ । उक्त क्षेत्रमा ‘ग्राउन्ड क्लियरेन्स’को काम लगभग सकिएको छ । अब रुख कटानको अवस्थामा आइपुगेको छ ।

काठमाडौं विमानस्थलको विकल्पको रुपमा तत्काल सञ्चालनमा आउन सक्ने विमानस्थल हो गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल । विश्वकै बौद्ध धर्मावलम्बीको आस्थाको धरोहर लम्बिनीबाट करिब ४५ मिनेटको सडक दूरीमा रहेको यो विमानस्थलका लगभग सबै काम सकिएका छन् ।

कोरोनाका कारण उपकरण आयात नहुँदा काम रोकिए पनि यसले अहिले गति लिएको छ । भौतिक पूर्वाधारका करिब ९५ प्रतिशत काम सम्पन्न भइसकेको छ । आन्तरिक उडानका लागि प्रयोग भइरहेको यो विमानस्थल अन्तर्राष्ट्रियस्तरको बनाउने सम्झौता भएको १२ बर्ष बितिसके पनि यसले निकै उतारचढाव बेहोर्यो ।

मुख्य ठेकेदार र स्थानीय ठेकेदारको बारम्बारको विवादका कारण मुख्य लगानीकर्ता एसियाली विकास बैङ्क (एडीबी)ले यसबाट हात झिकिसकेको अवस्थामा सरकाले तीन वर्ष अघि समन्वय गर्दै यसलाई गति दियो । मुआब्जा बाहेक ६ अर्ब ८२ करोड लागत रहेको यो विमानस्थल २ सय ८७ बिघा क्षेत्रफलमा फैलिएको छ ।

निर्माण सम्पन्न हुने क्रममा रहेको यो विमानस्थलको धावनमार्ग तीन किलोमिटरको छ, जुन काठमाडौं विमानस्थलकै बराबरी हो । अहिले ७२ सिट क्षमताका जहाजमात्र अवतरण गर्न सक्ने यो विमानस्थल अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा सञ्चालन भएपछि एयरबस ३२० सम्मका तीन सय सिट क्षमताका जहाजसमेत अवतरण गर्न सक्नेछन् ।

विमानस्थलको नयाँ टर्मिनलले प्रति घन्टा दुई हजार यात्रुलाई सेवा दिन सक्छ । काठमाडौं विमानस्थलमा अत्यधिक ट्राफिक जाम हुँदा अथवा कुनै विपद्को समयमा अवतरण गर्न नसकेर आकाशमै होल्ड हुनुपर्ने समस्या यो विमानस्थलको निर्माणपछि समाधान हुने अपेक्षा गरिएको छ । विमानस्थल सञ्चालनपछि म्यानमार, श्रीलङ्का, मङ्गोलिया, भियतनाम लगायतका देशबाट यो विमानस्थलमा सिधा उडान हुनसक्ने अपेक्षा गरिएको छ ।

२०३२ सालदेखि नै पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको योजना बने पनि त्यो यतिबेला आएर मात्र कार्यान्वयन हुँदैछ । सन् २०१२ मा विश्वव्यापी बोलपत्र आह्वान गरे पनि सन् २०१४ मा चीनको सीएएमसी इन्जिनियरिङ कम्पनी लिमिटेडसँग सम्झौता भएको थियो । तर ऋण प्रक्रियामा अल्झिएको यो विमानस्थलको त्यस सम्बन्धी सबै काम सकिएपछि सन् २०१७ जुलाई ११ मा प्राधिकरणले सम्झौता पाएको चिनियाँ कम्पनीलाई निर्माणको कार्यादेश उदाएको थियो ।

त्यतिबेलै चार वर्षभित्र अर्थात् आगामी जुलाई १० मा सम्पन्न गर्ने निर्देशन प्राधिकरणले दिएको थियो । यतिबेला पोखरा अन्तर्राष्ट्रिय विमानस्थल त्यही समयसीमाभित्र निर्माण सम्पन्न गरेर उदाहरणीय गौरवको आयोजनाका रुपमा स्थापित हुने गरी धमाधम काम हुँदैछ । कोरोना सङ्क्रमणका कारण केही समय निर्माणको काम रोेकिए पनि अहिले फेरि विस्तारै लयमा फर्किदैछ ।

नेपाल नागरिक उड्डयन प्राधिकरण यो आयोजना अझै पनि तोकिएकै समयमा सम्पन्न गर्ने प्रतिबद्धताका साथ अगाडि बढिरहेको छ । पोखराको छिन्नेडाँडामा रहेको यो विमानस्थल तीन हजार एक सय ६ रोपनी क्षेत्रफलमा फैलिएको छ । विमानस्थललाई १० मिटर चौडाइसहितको चक्रपथले घेरेको छ ।

६३ प्रतिशत भौतिक प्रगति भइसकेको यो विमानस्थल आइकाओ मापदण्ड अनुसार फोरडी स्तरको हुनेछ । दुई हजार पाँच सय मिटरको विमानस्थलको धावनमार्ग पूर्ण रुपममा ढलान गरिएको छ । १४ हजार वर्गमिटर क्षेत्रफलमा फैलिएको यो विमानस्थलको टर्मिनल निकै आकर्षक बनेको छ । यसमध्ये १० हजार वर्गमिटर क्षेत्रफलमा अन्तर्राष्ट्रिय टर्मिनल हुनेछ, बाँकी आन्तरिकतर्फको टर्मिनल हुनेछ ।

विमानस्थलमा दुई सय सिट क्षमताका जहाज मात्र अवतरण गर्न सक्नेछन् । विमानस्थलमा नेपालमै पहिलोपटक बोर्डिङ ब्रिजको प्रयोग गरिँदैछ । अर्थात् यात्रुहरुले अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जस्तो बोर्डिङ पास भएपछि बसमा चढेर जहाजसम्म पुग्नुपर्ने छैन ।

यो विमानस्थलको निर्माणपछि खासगरी भारत र चीनसहित मलेसिया, सिङ्गापुर, थाइल्यान्डजस्ता देशबाट सिधै उडान हुन सक्नेछ । निर्माण सम्पन्न भए पनि सन् २०२२ को जनवरीसम्म सञ्चालनमा ल्याउने उद्देश्य राखिएको छ ।

विस्तार हुँदै आन्तरिक विमानस्थल
सरकारले यसबीचमा आन्तरिक विमानस्थलहरुको स्तरोन्नति, विस्तार र परीक्षण उडानलाई विशेष प्राथमिकतामा राख्यो । धनगढी र चन्द्रगढीमा रातिसमेत उडान सम्भव बन्यो । कालीकोट र गुल्मीमा रहेका विमानस्थलको कालोपत्रे गर्ने काम यसै अवधिमा अघि बढ्यो ।

दाङ र सुर्खेत विमानस्थल विस्तारको लागि जग्गा अधिकरणको प्रक्रिया अघि बढिसकेको छ । ताप्लेजुङ विमानस्थलमा पनि कालोपत्रे गर्ने प्रक्रिया अघि बढाइएको छ । रामेछाप विमानस्थलको धावनमार्ग विस्तारका लागि ठेक्का सम्झौता भइसकेको छ । राजविराज र सिमरा विमानस्थल स्तरोन्नतिका लागि प्रक्रिया अघि बढिसकेको छ ।

विराटनगर र नेपालगञ्ज विमानस्थलमा नयाँ टर्मिनल टावर निर्माणको अध्ययन सुरु भएको छ । थामखर्क, बलेवा, सिमकोट, रारा, फाप्लु, डोटी, साँफेबगर, रुम्जाटार विमानस्थलहरुमा एटीसी कन्सोल उपकरण प्रतिस्थापन काम भइरहेको छ । बझाङको चैनपुर विमानस्थलमा परीक्षण उडानपछि अहिले नियमित उडान भइरहेको छ ।

साझेदारीमा पूर्वाधार
पर्यटकीय पूर्वाधारमा हुने दोहोरो लगानी घटाउँदै पूर्वाधारमा तीनै तहको सरकारको लगानी साझेदारी कार्यान्वयनमा आएको छ । यसले पूर्वाधार निर्माणको आवश्यकता र त्यसको सम्भाव्यतासहित व्यवस्थित अध्ययन गरेर आवश्यक मात्र लगानी गर्ने अवस्था सिर्जना गरेको छ ।

यस्तो पूर्वाधारमा सङ्घ, प्रदेश र स्थानीय तह गरी तीनै सरकारको लगानी छ । जसले पूर्वाधार निर्माणमा स्थानीय तहको संलग्नता र जिम्मेवारी पनि बढाएको छ । चालु आर्थिक वर्ष २०७७÷७८ बाट सुरु भएको लगानी साझेदारी कार्यक्रमका लागि सरकारले दुई सयवटा पर्यटन पूर्वाधार छनोट गरिसकेको छ । त्यसका लागि मन्त्रालयबाट उपलब्ध गराइने र साझेदारी लागतसहितको लगानी पनि टुङ्गो लागिसकेको छ ।

यो कार्यक्रम कार्यान्वयनमा आएसँगै देशका सबै प्रदेशका विभिन्न स्थानमा दुई सयवटा पर्यटन पूर्वाधार निर्माणको काम अघि बढेको छ । हरेक वर्ष एकै किसिमबाट लागु हुने यो कार्यक्रमले फरक फरक निकायबाट भइरहेको पर्यटकीय पूर्वाधार निर्माणमा एकरुपता ल्याउनेछ ।

प्राथमिकतामा अन्तरप्रदेश उडान
काठमाडौं केन्द्रित नेपालको आन्तरिक हवाई संरचनालाई परिवर्तन गर्दै सरकारले पहिलोपटक अन्तरप्रदेश उडानलाई प्राथमिकतामा राखेको छ । प्रदेश अन्तर्गतका विमानस्थलबाट सोझै अर्को प्रदेशको विमानस्थलमा उडान गरेर सहज हवाई सेवा उपलब्ध गराउने सरकारको योजना छ ।

यसरी अन्तरप्रदेश उडान गर्न वायुसेवा कम्पनीहरुलाई पार्किङ शुल्क कम गर्ने लगायतका छुट सुविधा दिने सरकारले जनाएको छ । यसले उडान पूर्वाधार निर्माणलाई थप स्तरीय बनाउन पनि सहयोग पुग्ने देखिन्छ । त्यस्तै प्रमुख पर्यटकीय गन्तव्यमा जान काठमाडौंमै आएर अर्को उडान गर्नुपर्ने बाध्यता पनि यसले अन्त्य गरिदिनेछ ।यो समाचार आजको गोरखापत्र दैनिकमा विश्वास रेग्मीले लेखेका छन ।

IME Life
kumari