ग्रीनलाइफ हाइड्रोपावरको आइपीओ भर्ने आज अन्तिम मौका
काठमाडौं । ग्रीनलाइफ हाइड्रोपावरको आइपीओ भर्ने आज माघ २७ गते मंगलबार अन्तिम दिन हो । लगानीकर्ताले आज मंगलबार कार्यालय समयसम्म यसमा आवेदन दिन सक्नेछन् । यसमा सर्वसाधारण लगानीकर्ताले माघ भन्दा ६ गुणा बढी आवेदन दिइसकेका छन् ।
सोमबार ४ः१८ बजेसम्ममा १० लाख ७६ हजार ९१४ जना सर्वसाधारण लगानीकर्ताले १ करोड ९५ लाख २० हजार ७० कित्ताका लागि आवेदन दिएका छन् ।
कुल १ अर्ब ९५ करोड २० लाख ७ हजार रुपैयाँ बराबरको आवेदन परेको हो । कम्पनीले माघ २३ गतेदेखि सर्वसाधारणका लागि ३२ लाख ५१ हजार ६५२ कित्ता आइपीओ खुला गरेको हो ।
ग्रीनलाइफले कुल ३४ लाख ९६ हजार ४०० कित्तामध्ये ६९ हजार ९२८ कित्ता कम्पनीका कर्मचारी र १ लाख ७४ हजार ८२० कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी सेयर सर्वसाधारणमा जारी गरेको हो ।
यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिने व्यवस्था रहेको छ । सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोसेयर एपमार्फत अनलाइबाट पनि आइपीओ भर्न सकिन्छ ।
कम्पनीले यसअघि आयोजना प्रभावित स्थानीयले नकिनेको सेयरसमेत थप गरी सर्वसाधारणलाई बिक्री गरेको हो । ग्रीनलाइफले दोलखा जिल्लाका स्थानीयलाई कुल १८ लाख कित्ता आइपीओ निष्कासन गर्दा १ लाख ३ हजार ६०० कित्ताका लागि मात्रै आवेदन परेको थियो । कुल १६ लाख ९६ हजार ४०० कित्ता सेयर बिकेको थिएन । उक्त सेयर सर्वसाधारणलाई थप गरी अहिले बिक्री गरिएको हो ।























