सिनेमा हल आजदेखि खुल्दै
काठमाडौं । कोरोना सङ्क्रमणको जोखिमका कारण गत चैतदेखि बन्द सिनेमा हल आजदेखि खुल्ने भएका छन् ।व्यापार व्यवसाय, विद्यालय, कलकारखाना, यातायात खुले पनि सिनेमा हल खुलाउन सरकारले चासो नदिएको भन्दै हल सञ्चालक आफैँले आजदेखि खुलाउन लागेका हुन् ।
आफैं हल खोलेर सरकारको ध्यानाकर्षण गराउन लागेको नेपाल चलचित्र संघका अध्यक्ष मधुसुदन प्रधानले बताउनुभयो ।
प्रधानका अनुसार विश्व स्वास्थ्य संगठन र नेपाल सरकारको निर्देशन तथा स्वास्थ्य मापदण्ड अनुसार नै सिनेमा हल खुल्ने छन् । हलमा छिर्ने बेला भीडभाड हुन नदिने, स्यानिटाइजरको प्रयोग गराउने, माक्सबिना हलभित्र जान नदिने र दुई दर्शकबीचको सिट खाली राखेर सञ्चालन गर्ने तयारी छ ।
नेपाल हल संघको निगरानीमा स्वास्थ्य मापदण्ड पालन भए नभएको पनि अनुगमन गर्ने प्रधानले बताउनुभयो । सकेसम्म हलको पूरा टिकटमध्ये ५० प्रतिशत मात्र टिकट अनलाइनबाट बेच्ने, अनलाइन सेवा नभएमा २ मिटरको दूरी कायम गरी टिकट बेच्ने, ज्वरो नाप्ने यन्त्रको प्रयोग गरी हलभित्र प्रवेश गराउने पनि हल संघका अध्यक्ष प्रधानले बताउनु भएको छ ।
























