प्रभु लाइफको आइपीओ आज शुक्रबार बाँडफाँट हुँदै
काठमाडौं । प्रभु लाइफ इन्सुरेन्सको आइपीओ आज पुस १० गते शुक्रबार बाँडफाँट हुँदैछ । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार आफ्नै कार्यालय नारायणचौर नक्साल काठमाडौंमा आज बिहान ११ बजे आइपीओ बाँडफाँड हुने कार्यक्रम तय भएको छ ।
प्रभुको आइपीओमा माग भन्दा बढी आवेदन परेकाले सेयर पाउन भने भाग्यमै पर पर्नु पर्नेछ । गोलाप्रथाबाट सेयर बाँडफाँट हुनेछ । यसमा कुल २ अर्ब ९२ करोड ८७ लाख ४३ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । १० लाख ८२ हजार १४३ जनाले २ करोड ९२ लाख ८७ हजार ४३० कित्ताका लागि आवेदन दिएका हुन् ।
प्रभु लाइफले मंसिर २९ गतेबाट पुस २ गतेसम्म ६० करोड रुपैयाँ बराबरको कुल ६० लाख कित्ता आइपीओ निष्कासन गरेको थियो ।
यसमध्ये ३ लाख कित्ता कर्मचारी र ३ लाख कित्ता म्युचुअल फन्डहरुलाई छुट्याइएको थियो । बाँकी रहेको ५४ लाख कित्तामा मात्र सर्वसाधारणको लागि खुला गरिएको हो । प्रभुलाई क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्राएनपी–आइआर बीबी प्लस’ रेटिङ दिएको छ ।
यस रेटिङले कम्पनीको वित्तीय दायित्व वहन गर्ने क्षमतामा औसत जोखिम रहेको देखाउँछ । हाल प्रभुको चुक्ता पुँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको छ ।
आइपीओ बिक्रीपछि चुक्ता पुँजी २ अर्ब रुपैयाँ पुग्नेछ । बिमा समितिको प्रावधान अनुसार जीवन बिमा कम्पनीहरुको न्यूनतम चुक्ता पुँजी २ अर्ब रुपैयाँ हुनु पर्दछ ।
























