भिसामा मनपरी निर्णय
काठमाडौं । गृह मन्त्रालयले पर्यटक प्रवेशाज्ञा (भिसा) को म्याद गुज्रिएका विदेशी नागरिकलाई फिर्ता नपठाई फेरि अर्को वर्ष (२०२१)का लागि भिसा दिने विवादास्पद निर्णय गरेको छ। पर्यटक भिसामा १ सय ५० दिन बसिसकेका विदेशीलाई नेपाल बसिरहेकै अवस्थामा पुनः पर्यटक भिसा दिन मिल्दैन।
अध्यागमन नियमावलीको नियम ६ (२)मा ‘पर्यटक भिसा एक भिसा वर्षमा बढीमा पाँच महिनाका लागि दिइनेछ’ भन्ने स्पष्ट प्रावधान छ । तर, गृहले उक्त नियमावली विपरीत भिसा नियमित गरेर अर्को वर्षका लागि पनि भिसा दिने निर्णय गरेको हो । मंसिर २३ को गृहमन्त्रीस्तरीय उक्त निर्णय अध्यागमन नियमावली विरुद्ध छ।
अन्तर्राष्ट्रिय उडान भइरहेका मुलुकका नागरिकलाई फिर्ता नपठाई अर्को वर्षका लागि पनि भिसा दिने गृहको निर्णय आश्चर्यजनक छ । अन्तर्राष्ट्रिय उडान भइसकेका चीन लगायत अन्य मुलुकको नागरिकका हकमा गृहको उक्त निर्णय सान्दर्भिक छैन । गृहले त्यस्ता विदेशीलाई निष्कासन गर्नुको सट्टा कोरोना भाइरसको जोखिम देखाउँदै आवश्यक अध्ययन, अनुसन्धानबिनै भिसा नियमित गर्ने विवादास्पद निर्णय गरेको हो।
गृह र अध्यागमनका अधिकारीले उनीहरू आफैं सम्मिलित भएर गरेको निर्णयबारे चित्तबुझ्दो जवाफ दिएनन्। गृहका प्रवक्ता चक्रबहादुर बुढा र अध्यागमन विभागका महानिर्देशक रमेशकुमार केसीले कोरोना भाइरसको जोखिमका कारण ओभरस्टे भएकाहरूको भिसा नियमित गर्ने र उनीहरूलाई अर्को भिसा वर्षमा पनि पर्यटक भिसा जारी गर्ने निर्णय भएको प्रतिक्रिया दिए । ‘पर्यटन व्यवसायीलगायत सरोकारवालाको सिफारिसमा निर्णय गरिएको हो’, महानिर्देशक केसीले भने ।
लकडाउनकै बेला जापान, कोरिया, अमेरिका लगायत कतिपय मुलुकले नेपालमा रहेका अधिकांश आफ्ना नागरिकको उद्धार गरिसकेका छन् । ओभरस्टे बस्ने र आफ्नो मुलुक फर्कन नचाहनेमा अधिकांश चिनियाँ छन् । उनीहरूलाई नै लक्ष्य गर्दै यस्तो निर्णय आएको स्रोतले बताएको छ। पर्यटक भिसामा एक भिसा वर्ष बसिसकेका विदेशीले अनिवार्य नेपाल छाड्नुपर्ने हुन्छ।
एक भिसा वर्षमा १ सय ५० दिन बढी (ओभरस्टे) नेपाल बसेका विदेशीलाई नियम बमोजिम जरिवाना लिएर अध्यागमन विभागले सम्बन्धित मुलुक फिर्ता गर्नुपर्छ ।
तर, गृहले ओभरस्टे भइसकेका विदेशीको भिसा नियमित गरी अर्को वर्षका लागि पनि उनीहरूलाई पर्यटक भिसा दिने निर्णय गरेको हो। ‘ओभरस्टे रहेका चिनियाँ आफ्नो मुलुक फर्कन चाहँदैनन्। कुनै न कुनै बहानामा उनीहरू नेपाल नै बस्न चाहन्छन्। आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट























