stcnepal long ad
ime life insurance
national life
global ime bank long

८० प्रतिशत महिलासँग आफ्नै मोबाइल

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । नेपालका प्रत्येक दुई घरपरिवारमध्ये एक इन्टरनेटको पहुँचमा रहेको पाइएको छ । केन्द्रीय तथ्याङ्क विभागले सोमबार सार्वजनिक गरेको नेपाल बहुसूचक सर्वेक्षण २०७५/७६ प्रतिवेदनले प्रत्येक दुईमध्ये एक जना घरपरिवारसँग अर्थात् कुल घरपरिवारमध्ये ५१.१ प्रतिशतले कुनै उपकरणबाट इन्टरनेट प्रयोग गरेको पाइएको उल्लेख गरेको छ ।
इन्टरनेट प्रयोगकर्तामध्ये १५ देखि ४९ वर्ष उमेर समूहका महिलामध्ये ७९.३ प्रतिशत महिलासँग आफ्नै मोबाइल फोन रहेको तथ्य पनि सर्वेक्षणले पत्ता लगाएको छ ।

त्यस्तै ९२.४ प्रतिशत महिलाले गत तीन महिनामा मोबाइल प्रयोग गरेको देखिएको प्रतिवेदनमा उल्लेख छ । यसमध्ये पनि सहरी क्षेत्रका महिलामध्ये ८१.८ प्रतिशतसँग आफ्नै मोबाइल फोन रहेको छ भने ग्रामीण क्षेत्रका ७३.६ प्रतिशतसँग आफ्नै मोबाइल रहेको तथ्य प्रतिवेदनमा उल्लेख छ ।

सहरी क्षेत्रका महिलामध्ये ९३.५ प्रतिशत र ग्रामीण क्षेत्रका ८९.९ प्रतिशतले विगत तीन महिनामा मोबाइल प्रयोग गरेको पाइएको छ ।

आफ्नै मोबाइल रहेका सो उमेर समूहका महिलामध्ये सबैभन्दा धेरै गण्डकी प्रदेशका ९१.८ प्रतिशतसँग मोबाइल रहेको पनि सर्वेक्षणले देखाएको छ । सबैभन्दा कम कर्णाली प्रदेशका ७१.८ प्रतिशतसँग मात्र आफ्नो मोबाइल रहेको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनले यो समूहका १४ हजार आठ सय पाँच महिलालाई सर्वेक्षणमा सहभागी गराएको थियो । त्यसमध्ये गण्डकी प्रदेशका एक हजार २५७ र कर्णाली प्रदेशका ७९८ जना महिला सहभागी रहेको उल्लेख छ ।

सर्वेक्षणमा सहभागी दुई हजार ११४ काठमाडौँ उपत्यका क्षेत्रका यही उमेर समूहका महिलामध्ये ९५.४ प्रतिशतसँग आफ्नै मोबाइल रहेको तथ्याङ्क पनि प्रतिवेदनले सार्वजनिक गरेको छ ।

सोही उमेर समूहका पुरुषमध्ये ९१.४ प्रतिशतसँग आफ्नै मोबाइल फोन रहेको पाइएको छ । गत तीन महिनामा ९६.८ प्रतिशत पुरुषले मोबाइल प्रयोग गरेको देखिएको छ ।

यसमध्ये पनि सहरी क्षेत्रका ९३ प्रतिशत र ग्रामीण क्षेत्रका ८७.५ प्रतिशतले आफ्नै मोबाइल फोन प्रयोग गरेको पाइएको छ । विभागले यो सर्वेक्षणमा सबै प्रदेश सहित पाँच हजार ५०१ जना पुरुषलाई सहभागी गराएको थियो । यो समाचार आजको गोरखापत्र दैनिकमा  विश्वास रेग्मीले लेखेका छन ।

IME Lifesidebar
kumari