चीनबाट सामान आयातमा अनेकौं कठिनाई व्यापारिहरू अन्य देशतर्फ लागे
काठमाडौं । गत वर्ष २०७६ सालको माघ महिनादेखि बन्द चिनियाँ नाकाहरू एकपक्षीय रूपमा अझैसम्म बन्द जस्तै छन् ।
कोरोना महामारीका कारण बन्द चिनियाँ नाका खुलाउन ७ महिनादेखि व्यापारीहरूले दवाव दिदा बल्ल चीनले उत्तरी नेपाल–चीन सीमा नाका खुलेपनि चिनियाँ पक्षले सीमावारिसम्म दैनिक बढीमा ५ कन्टेनरसम्म मात्र सामान ल्याइदिने गरेकोका छन ।
चीनबाट सामान बोकेर आएका सबै नेपाली कन्टेनरहरू नेपाल सीमा आउन पाएका छैनन् । नेपाल ल्याइएका सामान सीमा पारि चीनमा रोकिएपछि व्यवसायीहरूले चीनबाट सामान आयात गर्न रोकी अन्य देशसँगको कारोबार बढाउन थालेका छन।
चीनबाट सामान ल्याउन अनेकौं कठिनाई भएको र चीन नाका रसुवागढी र तातोपानी नाकाबाट दैनिक चीनले ५–५ बटा मात्र सामान बोकेका कन्टेनर नेपाल–चीन सीमा वारपार गर्न दिने गरेकाले व्यापारीहरूले महिनौ सम्म सामान आयात–निर्यात गर्न नपाउदा गोदाम भाडा र महंगो ढुवानी भाडा तिर्नुपर्ने बाध्यता छ ।
यसरी महिनौ नाकामा सामान डम्पिङ गर्नुपर्दा विगत दस महिनादेखि चीनबाट सामान आयात गर्ने सबै व्यापारी करोडौं नोक्सानमा परेका छन ।
गर्मी समयका लागि आयात गरिएका सामान जाडो लाग्दा समेत आइ पुगेका छैनन । जाडोका सामान फागुन–चैत्रमा मात्र आइपुग्ने अवस्था रहेकाले चीनसँग रसुवागढी र तातोपानी नाका हुँदै व्यापार गर्ने नेपाल हिमालय सीमापार व्यापार संघ आवद्व व्यापारीहरू भारत, थाइलैण्ड, सिंगापुर, हङकङ, दुवई तर्फ आकर्षित हुन थालेका छन ।
माघदेखि बन्द नाका दुई देशबीच समझदारी भई गत जेठदेखि नाका खुला गर्ने भनिए पनि पूर्णरूपमा नाका खुल्न अझै सकेको छैन । दैनिक सय कन्टेनर सामान आयात हुने रसुवागढी र तातोपानी नाकाबाट हाल मुस्किलले ५ कन्टेनरसम्म मात्र सामान आयात भइरहेको छ ।
नाकामा चीनले कडाई गर्दा धेरै व्यवसायीहरू व्यवसाय छोड्न बाध्य भएको र कामदार बेरोजगार भएपछि क्रमशः चिनियाँ व्यापारको विकल्प खोज्न थालेका छन।
हाल नेपाली कन्टेनर नाकाभन्दा पारि जान नपाएपछि चिनियाँ कन्टेनरले नै सीमा वारिसम्म सामान छोडिदिने गरेका छन्, जसकारण कन्टेनर भाडा दर दशौं गुणासम्म बढेको र समय पनि २–३ महिना सम्म लाग्ने भएपछि व्यापारीहरूले वैकल्पिक माध्यम खोज्न थालेका छन् ।
करिव १० महिनादेखि नाका पारि नै सामान रोकिएकाले थुप्रै व्यवसायीहरू पलायन भएका छन्, कतिपयले आफ्नो व्यवसाय नै बदलेका छन् ।
सामान्य अवस्थामा नेपाल–चीन व्यापार गर्ने व्यवसायीले चीनसँगै बढी कारोबार गर्ने गरेकोमा हाल भारत, बंगलादेश, थाइल्याण्ड,सिंगापुर,हङकङ,दुवई लगायत देशसँग कारोबार बढाएका छन् ।
कतिपय व्यवसायीले चीनमा रोकिएका सामान पुन समुद्री बाटो हुँदै भारतीय नाकाबाट सामान आयात गर्न थालेका छन । यसो गर्दा लागत दोव्वर बढेकाले बजारमा दोव्वर मूल्य बढन गई उपभोक्ता मारमा पर्न गएका छन। चिनियाँ नाका बन्द भएपछि चलाख व्यापारीहरूले वैकल्पिक माध्यमबाट सामान आयात गरिरहेका छन ।
दशैं, तिहारमा कस्मेटिक सामानको माग बढेको र हाल चिसोमा रेडिमेट गार्मेन्टको माग बढेकोमा सो माग पूरा गर्न व्यापारीहरूले नेपाल चीन नाका बन्द जस्तै भएकाले वैकल्पिक माध्यमबाट सामान आयात गरिरहेका छन।
चीनबाट सामान ल्याउदा रसुवागढी र तातोपानी नाका हुँदै सामान ल्याउनु भन्दा भारतीय नाकाबाट सामान आयात गर्दा कुनै समस्या नपर्ने,छिटो र सस्तो पर्न जाने हुँदा हाल व्यापारीहरूले चीन लगायत अन्य देशबाट आयात गरिएको सामान भारतीय नाका हुँदै ल्याउन थालेका छन्।
यद्यपि अन्य देशबाट सामान आयात महँगो हुने भएकाले चिनियाँ सामान नै प्राथमिकतामा राखेर व्यापार गरिरहेका छन। तेस्रो देशबाट सामान आयात गर्दा पनि चिनियाँ सामान नै ल्याउने गरेका छन।
सरकारले चिनियाँ नाका खुलिसकेको दाबी गरिरहे पनि उत्तरी चिनियाँ नाका पुरै नखुलेको र १० महीनादेखि रोकिएका २२ सय कन्टेनर सामान सीमा पारि नै रहेको व्यापारीहरू बताउछन। हाल नाका बन्द भएकाले चीनबाट एकदमै कम मात्रामा दैनि ५ कन्टेनर मात्र सामान आयात भैरहेको छ तर निर्यात भने पूर्णरूपमा बन्दप्रायः रहेको छ ।
भन्सार विभागका अनुसार अघिल्लो वर्षको तुलनामा यस वर्ष पहिलो ४ महीनामा चीनसँगको व्यापार रू.२० अर्बले घटेको छ । चालू आर्थिक वर्षको पहिलो ४ महीनामा चीनसँग रू. ६० अर्ब ४१ करोडको व्यापार भएकोमा अघिल्लो वर्ष यही अवधिमा रू. ८० अर्ब ८१ करोडको व्यापार गरेको थियो ।
हिमालय सीमापार व्यापार संघका अध्यक्ष बच्चु पौडेलेले नाकाकै कारण द्विदेशीय व्यापार घटेको बताएका छन । उनले चीनको विकल्पको रूपमा भारत, बंगलादेश, सिंगापुर, थाइल्याण्ड,हङकङ,दुवई जस्ता देशसँगको कारोबार व्यापारीहरूले बढाएका छन् ।


























