नेकपा सचिवालय बैठक : १६ गते बस्ने अर्को बैठकमा दुवै अध्यक्षका प्रस्तावमाथि छलफल गरिने
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक पुनः १६ गते बस्ने गरी सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा (शनिबार) आज बसेको सचिवालय बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले लिखित जवाफ पेस गर्नुभएको छ ।
अध्यक्षद्वय ओली र दाहालको प्रस्तावको अध्ययन गरी छलफलका लागि १६ गते १ बजे पार्टी कार्यालय धुमवाराहीमा बस्ने गरी अर्को बैठक बोलाइएको बताइएको छ ।
प्रधानमन्त्री ओलीले आज पेस गर्नुभएको प्रस्ताव सबै सचिवालय सदस्यलाई अध्ययनका लागि वितरण गरिएको पनि बताइएको छ ।
बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाललगायत सचिवालय सदस्य सहभागी हुनुहुन्थ्यो ।























