पूर्वसभामुख कृष्णबहादुर महराकी श्रीमतीको कारोना संक्रमणबाट मृत्यु
काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट पूर्वसभामुख तथा प्रतिनिधिसभा सदस्य कृष्णबहादुर महराकी श्रीमती सीता महराको निधन भएको छ ।
काठमाडौंस्थित नर्भिक अस्पतालमा मंगलबारदेखि भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममै आज बिहान मृत्यु भएको हो ।
दसैँमा पुर्ख्यौली घर रोल्पा मेबाङ गएको बेला स्वास्थ्यमा सामान्य समस्या देखिएपछि उनलाई कार्तिक १३ गते दाङस्थित गोर्खा अस्पतालमा भर्ना गरिएको थियो।
निमोनिया र श्वासप्रश्वासको समस्या देखिएपछि कार्तिक १४ गते शुक्रबार हेलिकोप्टरबाट काठमाडौँ ल्याइ नर्भिक हस्पिटलमा भर्ना गरिएको थियो।
नर्भिक हस्पिटलमा पीसीआर टेष्ट गर्दा कोरोना पोजेटिभ देखिएको थियो । गत १५ गतेदेखि भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममै बुधबार बिहान ६ः२५ बजे निधन भएको अस्पतालले पुष्टि गरेको छ।
विगत १० वर्षदेखि उनी माइस्थेनिया नामक रोगबाट पीडित थिइन् । सीता महराको जन्म २०१८ साउन १३ गते रोल्पाको गजुल धौलेगाउँमा भएको थियो। उनका दुई छोरा र दुई छोरी रहेका छन्।























