ट्राफिक प्रहरीले ल्यायो ट्राफिक जाम कम गर्ने कार्ययोजना
काठमाडौँ । काठमाडौं उपत्यकाको ट्राफिक जाम कम गर्न र सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक व्यवस्थापन सम्बन्धि एकीकृत कार्ययोजना २०७७ तयार भएको छ । ट्राफिक प्रहरी महाशाखा प्रमुख भीम ढकाल संयोजक रहेको समितिले एकीकृत कार्ययोजना तयार गरी आज गृहमन्त्री रामबहादुर थापालाई बुझाएको हो ।
उपत्यकाको सवारी जाम कम गर्न तत्काल सडक विस्तार गर्नुपर्ने, फराकिलो बनाउनुपर्ने, सडक किनारमा रहेका वर्कसप तथा कल–कारखानालाई स्थानान्तरण गर्नुपर्ने लगायतका सुझाव कार्य योजनामा समेटिएका छन् ।
तत्काल गौरीघाट प्रहरी बिटको पर्खाल भत्काइ सडक पराकिलो पार्नुपर्ने, जडिबुटी पुल र राधे राधे पुलको बाँकी काम तत्काल सम्पन्न गर्नुपर्ने, बडीबुटी सुर्यविनायकसम्म सर्भिस लेनको बाँकी ट्याक खोल्ने र मर्मत संभार गर्ने लगायतका काम गरी सर्भिस लेन सञ्चालन गर्नुपर्ने र कोटेश्वर चोकदेखि जडिबुटी पुलसम्म दुबै तर्फको सर्भिस लेन छिटो खोल्नुपर्ने विषय कार्ययोजनामा समेटिएका छन् ।
यस्तै दिर्घकालिन रुपमा उपत्यकाका अन्य साँधुरा, सवारी चाप हुने सडक र साँघुरा चोक जङ्सनहरुको अध्ययन गरी विस्तार गर्नुपर्ने, चक्रपथ सडकको बाँकी खण्ड विस्तारका लागि योजना बनाइ सम्पन्न गर्नुपर्ने योजना पनि कार्ययोजनामा समेटिएका महाशाखा प्रमुख ढकालले बताउनुभयो ।
यस्तै बाहिरी चक्रपथको अवधारणालाई कार्यान्वयन गर्नुपर्ने, नागढुंगा सिस्नेखोला टनेल, टोखा छहरे टनेल योजना समयमै सम्पन्न गर्नुपर्ने योजना पनि समेटिएको छ ।
यसैगरी विभिन्न ठाउँमा सठक कालोपत्रे गर्नुपर्ने आवश्यकता पनि समितिले औल्याएको छ । पकनाजोल–क्षेत्रपाटी सडक, ग्वार्को–मंगलबजार सडक, गौशाला–चाबहिल–बौद्ध, मंगलबजार –सुन्धारा, जोरपाटी–सुन्दरीजल र लगनखेल–प्रयाग पोखरी सडक कालोपत्रे गर्नुपर्ने सुझाव समितिले दिएको छ ।
यस्तै जोरपाटी–साँखु, हात्तीवन–गोदावरी, कमलविनायक–नगरकोट, इमाडोल सिद्धिपुर–लुभु , सानो टिमी–बाख्रा बजार र नख्खु दोबाटो–बागडोल सर्भिस लेन पनि कालोपत्रे गर्नुपर्ने छ । समितिले सडक किनारामा स्थापना भएका पेट्रोल पम्प र वर्कसपहरु पनि स्थानान्तरण गर्नुपर्ने सुझाव दिएको छ ।
यसैगरी माइतिघर–तिनकुने, सूर्यविनायक–कोटेश्वर–कलंकी सडकलार्य नमुना सडकका रुपमा विस्तार गरी पूर्ण सडक पूर्वाधार र आधुनिक प्रविधि युक्त सडकको रुपमा विस्तार गर्ने र प्रत्येक स्थानीयतहले तीन वटा सकलाई नमुना सडकको रुपमा विकास गर्नुपर्न गरी कार्ययोजना निर्माण भएको छ ।
दिर्घकालिन रुपमा उपत्यकाका सडक फराकिला बनाएर नमुना सडकका रुपमा विकास गर्ने, प्रत्येक वडामा कम्तिमा एउटा सडकलाई नमुना सडकको रुपमा विकास गर्ने र सरकारी स्तरबाट नै ट्रफिक विद्यालय सञ्चालन गरी ट्राफिक र सडक नियम सम्बन्धि प्रशिक्षण दिनुपर्ने सुझाव पनि कार्ययोजनामा समेटिएको छ ।























