कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक स्थगित
काठमाडौ । नेपाली कांग्रेसका पूर्व कोषाध्यक्ष एवं अग्रज समाजसेवी रामवावु प्रसाई (खनुपरूदे प्रसाई) को असोज २३ गते भएको निधनको कारणले २०७७ असोज २५ गते २ बजे बस्ने भनिएको केन्द्रीय कार्यसमितिको बैठक स्थगित गरिएको छ
कांग्रेसका पूर्व कोषाध्यक्ष एवं अग्रज समाजसेवी रामवावु प्रसाई (खनुपरूदे) को असोज २३ गते काठमाडौंको ॐ अस्पतालमा उपचारका क्रममा निधन भएको छ। सन्त नेता कृष्णप्रसाद भट्टराईको सभापतित्वकालका कोषाध्यक्ष प्रसाईं वि.सं. १९७८ माघ १५ मा जन्मनु भएको थियो ।
निरंकुश पञ्चायती व्यवस्थाका विरुद्ध संघर्षक्रममा स्वर्गीय प्रसाईले जेलनेल र भारतमा निर्वासित जीवन समेत व्यतित गर्नु भएको थियो । अत्यन्त सालिन, मितव्ययी र सरल व्यक्तित्वका रुपमा परिचित उहाँले सय बर्ष पुग्न केही महिना बाँकी रहँदा विदाई लिनुभएको थियो ।
उहाँको निधनप्रति नेपाली कांग्रेस गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उहाँको आत्माको चीर शान्तिको कामनाका साथ सबै शोक सन्तप्त परिवारजनमा नेपाली कांग्रेस हार्दिक समवेदना प्रकट गरेको छ।
दिवंगत नेता प्रसाई प्रति उच्च सम्मान प्रकट गर्दै शोक कार्यक्रम देहाय बमोजिम निर्धारण गरिएको छ–
(क) २०७७ असोज २४, २५ र २६ गते तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय र मातहतका सबै कार्यालयहरुमा झण्डा आधा झुकाउने ।
(ख) २०७७ असोज २५ गते आइतबारका दिन केन्द्र तथा मातहतका सबै कार्यालय बन्द गर्ने ।
(ग) १३ औं दिनसम्म केन्द्र र जिल्ला कार्यालयहरुमा शोक पुस्तिका राख्ने ।
























