लिवर्टी इनर्जीको आइपीओ सबैले पाए
काठमाडौं । लिवर्टी इनर्जी कम्पनीको आइपीओ बाँडफाँट भएको छ । बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलको कार्यालय लाजिम्पाट काठमाडौंमा सोमबार १२ बजे गोलाप्रथाका माध्यमबाट आइपीओ बाँडफाँट गरिएको हो । जसमा सबैभन्दा धेरै २५ हजार ६२० जनाले ४० कित्ताका दरले सेयर हात पारेका छन् । यस्तै, ४८ हजार २२१ आवेदकले ३० कित्ता, ४५ हजार ४८ जनाले २० र ९४ हजार ९०४ आवेदकले १० कित्ता सेयर पाएका छन् ।
लिवर्टीको आईपीओमा कुल १ लाख ८८ हजार ४९९ वटा आवेदन परेको थियो । जसमा १२६ वटा आवेदन रद्द भएकाले १ लाख ८८ हजार ३७३ आवेदकलाई मात्र सेयर बाँडफाँट गरिएको हो ।
कम्पनीले भदौ ३ गतेबाट ७ गतेसम्म सर्वसाधारणका लागि ३५ लाख ६४ हजार ९३० कित्ता सेयर बिक्री खुला गरेको हो । कम्पनीले यसअघि स्थानीय बासिन्दाहरुका लागि निष्कासन गर्दा बिक्री नभएको १३ लाख १५ हजार ९३० कित्ता समेत थप गरी ३५ लाख ६४ हजार ९३० कित्ता सेयर सर्वसाधारणमा बिक्रीमा ल्याइएको हो ।
यस आइपीओले ग्रेड ४ रेटिङ पाएको छ । रेटिङ एजेन्सी इक्रा नेपालले यो आइपीओलाई औसत भन्दाकम आधार जनाउने रेटिङ दिएको हो । यसले लमजुङ जिल्लाको फलेनी र दोदेनी गाउँपालिकामा, २५ मेगावटको अपर दोर्दी ‘ए’ हाइड्रोपावर निर्माण गरिरहेको छ ।























