बीवाईडीले आफ्नो नयाँ एसयूभी फाङ चेङ बाओ टीआई ९ मा उपलब्ध
काठमाडौं । बीवाईडीले आफ्नो नयाँ एसयूभी फाङ चेङ बाओ टीआई ९ मा उपलब्ध गराएको फोल्ड गर्न मिल्ने स्टेयरिङ ह्विल चालकलाई गाडी पार्क गरेर आराम गर्न सहज बनाउने उद्देश्यले विकास गरेको हो ।
बीवाईडीका अनुसार यो स्टेयरिङ ह्विल गाडी गुडिरहेको अवस्थामा वा ड्राइभिङ असिस्टेन्स सिस्टम सक्रिय भएको बेला समेत फोल्ड गर्न मिल्दैन । गाडी पूर्ण रूपमा रोकेर पार्क मोडमा राखेपछि मात्रै स्टेयरिङ ह्विललाई १८० डिग्रीसम्म मोडेर ड्यासबोर्डभित्र राख्न सकिन्छ ।
स्टेयरिङ ह्विल फोल्ड हुन करिब १० सेकेन्ड लग्ने बताइएको छ । यसरी फोल्ड गर्दा चालकको अगाडिको भागमा २५ सेन्टिमिटरसम्म अतिरिक्त ठाउँ उपलब्ध हुन्छ । त्यसपछि अगाडि सानो टेबल राख्न र चालकको सिटलाई १६५ डिग्रीसम्म ढल्काएर आराम गर्न सकिन्छ ।
यो फिचर रिमोट पार्किङका क्रममा पनि प्रयोग गर्न सकिन्छ । चालक गाडीबाट बाहिर निस्किएपछि एसयूभी पार्क हुँदा स्टेयरिङ ह्विल आफैँ फोल्ड हुन्छ र गाडी पार्किङबाट बाहिर निस्कँदा पुनः खुल्छ ।
टीआई ९ मा स्टेयर–बाइ–वायर प्रविधि प्रयोग गरिएको छ । यसमा स्टेयरिङ ह्विलको घुमाइ इलेक्ट्रोनिक सिग्नलमार्फत ह्विलसम्म पुग्छ । कम्पनीले फोल्डिङ मेकानिजमलाई माइनस ३० देखि ८५ डिग्री सेल्सियससम्मको तापक्रममा ९६ हजार पटक परीक्षण गरेको जनाएको छ ।
फाङ चेङ बाओ टीआई ९ नोभेम्बर १९ मा चीनमा सार्वजनिक भएको हो । यो ६ सिट क्षमताको प्लगइन हाइब्रिड एसयूभीको मूल्य २ लाख ७९ हजार ९०० युआनदेखि सुरु हुन्छ । तर फोल्ड गर्न मिल्ने स्टेयरिङ ह्विल भने ३ लाख २९ हजार ९०० युआन पर्ने विशेष भेरियन्टमा मात्रै उपलब्ध छ ।



























