दमकको भाटभटेनी भोलिदेखि सञ्चालनमा आउने
काठमाडौं । झापा दमकस्थित भाटभटेनी सुपर स्टोर मंसिर ५ गते शनिबारदेखि पुन: सञ्चालनमा आउने भएको छ । भाटभटेनी सुपर मार्केटका प्रमुख सञ्चालन अधिकृत पानु पौडेलले स्टोर शनिबारदेखि नियमित रूपमा सञ्चालनमा आउने जानकारी दिएका हुन् ।
कम्पनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले जारी गरेको सूचनाअनुसार आगलागीबाट ठूलो क्षति बेहोर्नुपरे पनि कम्पनीले व्यावसायिक गतिविधि र कर्मचारीप्रतिको जिम्मेवारीलाई निरन्तरता दिएको छ ।
पूर्णरूपमा आगजनी भएका स्टोरहरूको पुनर्निर्माणका लागि ठूलो समय, स्रोत र लगानी आवश्यक पर्ने भए पनि चौबीसै घण्टा काम गरेर ग्राहकलाई पुन: सेवा दिन सफल भएको कम्पनीको भनाइ छ । कम्पनीले भाटभटेनीमा कार्यरत १० हजारभन्दा बढी कर्मचारीको रोजगारीमा असर पर्न नदिएको जनाएको छ ।
पुन: सञ्चालनका क्रममा सहयोग गर्ने कर्मचारी, ग्राहक, शुभेच्छुक तथा सरोकारवालाप्रति कम्पनीले आभार व्यक्त गरेको छ । कम्पनीले ग्राहकलाई आधुनिक सुविधा र गुणस्तरीय सेवा उपलब्ध गराउने प्रतिबद्धता यथावत् रहेको जनाएको छ।


























