बैंकमा बढ्दै पैसा, घट्दै मुद्दति निक्षेपको हिस्सा
काठमाडौं । बैंकमा पैसा राखेर निश्चित प्रतिफल पाउने अपेक्षासहित मुद्दति निक्षेप रोज्ने बचतकर्ताको आकर्षण घट्न थालेको छ।
साधारण बचत र मुद्दति निक्षेपबीचको ब्याजदर अन्तर साँघुरिँदै गएपछि बचतकर्ताले परिपक्व भएको मुद्दति रकम पुनः त्यही खातामा राख्नुभन्दा साधारण बचत खातामै राख्न थालेका छन्।
पछिल्लो एक वर्षमा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेपमा मुद्दतिको हिस्सा उल्लेख्य घट्नु र बचत खाताको हिस्सा बढ्नुले निक्षेपकर्ताको प्राथमिकतामा आएको परिवर्तन देखाएको छ।
बैंक तथा वित्तीय संस्थामा रहेको कुल निक्षेपमध्ये २०८३ भदौ मसान्तसम्म मुद्दति निक्षेपको हिस्सा ३४.७ प्रतिशतमा झरेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो हिस्सा ४७.९ प्रतिशत थियो। एक वर्षमै मुद्दति निक्षेपको अंश १३.२ प्रतिशत विन्दुले घटेको हो।
यसको विपरीत साधारण बचत खाताको हिस्सा ३८ प्रतिशतबाट बढेर ४८ प्रतिशत पुगेको छ। चल्ती खाताको हिस्सा पनि ५.८ प्रतिशतबाट बढेर ७.५ प्रतिशत पुगेको छ।
कुल ८३ खर्ब ४९ अर्ब रुपैयाँ निक्षेप रहेको बैंकिङ प्रणालीमा देखिएको यो परिवर्तनले बचतकर्ताले रकम राख्ने तरिकामै परिवर्तन गर्न थालेको संकेत गर्छ। मुद्दति निक्षेपमा निश्चित अवधिसम्म रकम राख्नुपर्ने बाध्यता हुन्छ। तर, त्यसबापत प्राप्त हुने ब्याज साधारण बचतको तुलनामा खासै बढी नहुँदा बचतकर्ताले आफ्नो रकमलाई एउटै खातामा बाँधेर राख्न आवश्यक नठानेका हुन्।
बैंकिङ क्षेत्रका जानकारहरुका अनुसार ब्याजदर अझै घट्न सक्ने वा आगामी दिनमा बढ्न सक्ने दुवै सम्भावना रहेकाले बचतकर्ता अहिले पर्ख र हेरको अवस्थामा छन्।
साधारण बचतमा पैसा राख्दा आवश्यक परेको समयमा निकाल्न सकिने सुविधा पनि हुन्छ। त्यसैले ब्याजदरको अन्तर कम हुँदा तरलता र सुविधालाई प्राथमिकता दिने प्रवृत्ति बढेको छ।
ब्याजदर घटेको प्रभाव बैंकहरुको आधार दरमा पनि देखिन्छ। २०८३ भदौमा वाणिज्य बैंकहरुको औसत आधार दर ४.७० प्रतिशत कायम भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यो ५.७२ प्रतिशत थियो। विकास बैंकहरुको आधार दर ८.०९ प्रतिशतबाट घटेर ६.१५ प्रतिशत र वित्त कम्पनीहरुको ८.७७ प्रतिशतबाट घटेर ६.७२ प्रतिशतमा झरेको छ।
निक्षेपमा दिने ब्याज पनि घटेको छ। भदौ मसान्तमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ३.११ प्रतिशत छ। अघिल्लो वर्ष यस्तो दर ३.९६ प्रतिशत थियो।
विकास बैंकहरुको ४.५८ प्रतिशतबाट घटेर ३.४८ प्रतिशत र वित्त कम्पनीहरुको ५.७३ प्रतिशतबाट घटेर ४.०४ प्रतिशत कायम भएको छ।
यसले बैंकमा पैसा राखेर प्राप्त हुने प्रतिफल निरन्तर खुम्चिँदै गएको देखाउँछ। अर्कोतर्फ कर्जाको ब्याजदर पनि घटेकाले ऋणीका लागि भने वित्तीय स्रोत तुलनात्मक रुपमा सस्तो भएको छ। भदौमा वाणिज्य बैंकहरुको कर्जाको भारित औसत ब्याजदर ६.३८ प्रतिशत, विकास बैंकहरुको ७.६७ प्रतिशत र वित्त कम्पनीहरुको ८.४७ प्रतिशत छ।
ब्याजदर घट्दा लगानीकर्ताका लागि कर्जा सस्तो हुने र नयाँ लगानीका अवसर विस्तार हुने सम्भावना रहन्छ। तर, निक्षेपकर्ताले पाउने प्रतिफल अत्यधिक घट्दा बैंकिङ प्रणालीमा बचत गर्ने उत्साह कमजोर हुन सक्ने जोखिम पनि उत्तिकै छ।
वास्तविक ब्याजदर ऋणात्मक हुने अवस्था आएमा बचतको क्रयशक्ति घट्ने र पुँजी अन्य क्षेत्रमा वा विदेशतर्फ जाने सम्भावना बढ्न सक्छ। त्यसैले ब्याजदर घटेको अवस्थालाई उत्पादनशील लगानी विस्तार गर्ने अवसरका रुपमा उपयोग गर्नुपर्ने अर्थतन्त्रका जानकारहरुको सुझाव छ।
यसबीच बैंकिङ प्रणालीमा निक्षेप संकलन भने बढिरहेको छ। चालु आर्थिक वर्षको पहिलो दुई महिनामा बैंक तथा वित्तीय संस्थामा ७२ अर्ब ८० करोड रुपैयाँ निक्षेप थपिएको छ।
अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो वृद्धि ३२ अर्ब ८६ करोड रुपैयाँमात्रै थियो। वार्षिक विन्दुगत आधारमा भदौ मसान्तसम्म निक्षेप १४.४ प्रतिशतले बढेको छ। कुल निक्षेपमा संस्थागत निक्षेपको हिस्सा भने अघिल्लो वर्षको ३५.२ प्रतिशतबाट घटेर ३३.३ प्रतिशतमा आएको छ।
कर्जा प्रवाहको संरचनामा पनि सामान्य परिवर्तन देखिएको छ। निजी क्षेत्रमा प्रवाहित कुल कर्जामध्ये गैरवित्तीय संस्थागत क्षेत्रको हिस्सा ६२.५ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रको हिस्सा ३७.५ प्रतिशत छ। अघिल्लो वर्ष यी हिस्सा क्रमशः ६२.८ र ३७.२ प्रतिशत थिए।
क्षेत्रगत रुपमा खनिज क्षेत्रमा कर्जा १०.४ प्रतिशतले बढेको छ। यातायात उपकरण उत्पादन तथा मर्मतमा ७.६ प्रतिशत, धातुजन्य उत्पादन तथा विद्युतीय सामान उत्पादनमा ७.३ प्रतिशत र निर्माण क्षेत्रमा ३.७ प्रतिशतले कर्जा विस्तार भएको छ।
सेवा उद्योगमा २.७, थोक तथा खुद्रा व्यापारमा २.५ र औद्योगिक उत्पादन क्षेत्रमा १.९ प्रतिशतले कर्जा बढेको छ। तर, कृषि क्षेत्रमा प्रवाहित कर्जा २.२ प्रतिशत र वित्त, बिमा तथा अचल सम्पत्ति क्षेत्रमा ४.७ प्रतिशतले घटेको छ। यसले सस्तो ब्याजदर उपलब्ध भए पनि सबै क्षेत्रमा लगानी समान रुपमा विस्तार हुन नसकेको देखाउँछ।























