citizens life insurance long ad
stcnepal long ad

विपद्को चपेटामा म्याग्दीका जलविद्युत् आयोजना

Nimb long ad
Prabhu Insurance Long Ad

म्याग्दी । मनसुनजन्य विपद्ले म्याग्दीका जलविद्युत् आयोजनाको विद्युत् उत्पादन, प्रसारण र निर्माण कार्य प्रभावित बनाएको छ ।

कालीगण्डकी र म्याग्दी नदी तथा तिनका सहायक खोलामा आएको बाढीपहिरोले सञ्चालनमा रहेका र निर्माणाधीन  आयोजनाका  बाँध, विद्युत्गृह, सुरुङ, प्रसारण लाइन र पहुँचमार्गमा क्षति पुर्याएको हो ।

विपद्का कारण केही आयोजना पूर्ण रूपमा बन्द भएका छन् भने केहीको परीक्षण उत्पादन र निर्माण कार्य प्रभावित भएको छ । निर्माणाधीन आयोजनामा निर्माण सामग्री तथा उपकरण ढुवानी अवरुद्ध हुँदा कामको गति सुस्त भएको छ । यसले आयोजना सम्पन्न हुने अवधि लम्बिनुका साथै निर्माण लागत बढ्ने जोखिम बढाएको छ ।

कालीगण्डकी नदीको कटानले २२० केभी क्षमताको कालीगण्डकी करिडोरअन्तर्गत दाना–खुर्कोट प्रसारण लाइनका अन्नपूर्ण गाउँपालिका–१ दोबामा दुई वटा र रातोपानीमा एउटा टावर बगाएको छ । धिरच्याङको  टावरमा  आंशिक क्षति पुगेको छ  भने तिप्ल्याङ  क्षेत्रको अर्को  टावर  जोखिममा परेको छ ।

प्रसारण लाइन अवरुद्ध भएपछि उत्तरी म्याग्दीका जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रणालीमा जोड्न समस्या भएको थियो । नेपाल विद्युत् प्राधिकरणको पोखरास्थित ग्रिड कार्यालयका प्रमुख रोशन खड्काका अनुसार भिरकाटेमा अस्थायी टावर निर्माण गरी करिब दुई किलोमिटर तार तानेर गत असोज ३१ गतेदेखि विद्युत् आपूर्ति पुन:सञ्चालन गरिएको थियो । क्षतिग्रस्त टावर र प्रसारण लाइनको स्थायी पुनर्निर्माण प्रक्रिया अघि बढाइएको छ ।

अन्नपूर्ण गाउँपालिका–४ नारच्याङका घलेम्दीखोला, म्रिस्त्रीखोला, निलगिरी–१, नीलगिरी–२ र रेलेखोलाका साथै मुस्ताङको थापाखोला जलविद्युत् आयोजनाको विद्युत् यही प्रसारण लाइनमार्फत राष्ट्रिय प्रणालीमा जोडिँदै आएको छ ।

बाढीपहिरोले अन्नपूर्ण गाउँपालिकाका दुई जलविद्युत् आयोजना बन्द भएका छन् । रेलेखर्क क्षेत्रबाट आएको बाढीले बाँधमा गेग्रान थुपारेपछि छ मेगावाट क्षमताको रेलेखोला आयोजना बन्द भएको आयोजनाका प्रतिनिधि होमनाथ पाण्डेले बताउनुभयो । त्यस्तै, १४ मेगावाट क्षमताको घारखोला आयोजनाको विद्युत्गृह गत साउन २६ गतेको सुक्खा पहिरोले पुरिएको थियो ।

त्यसपछि गत असोजको बाढीपहिरोले बाँधमा थप क्षति पुर्याएको छ । विद्युतगृह पुरिँदा एक जनाको मृत्यु र एक जना घाइते भएका थिए । आयोजनाको पुनर्निर्माण तयारी भइरहेको र प्रारम्भिक अनुमानअनुसार रु एक अर्बभन्दा बढी क्षति भएको म्याग्दी हाइड्रोपावरका प्रशासन प्रमुख अनिल तिवारीले बताउनुभयो ।

कालीगण्डकी बेसीनमा निर्माणाधीन १८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज र ६६ दशमलव तीन मेगावाटको मध्यकालीगण्डकी आयोजनाको निर्माण डेढ महिनादेखि प्रभावित भएको छ । कालीगण्डकी गर्जको मुस्ताङको घाँसास्थित थाप्लामा रहेको बाँध निर्माणस्थलमा बाढीले गेग्रान थुपारेपछि काम रोकिएको आयोजनाका वरिष्ठ प्रबन्धक कृष्णदास श्रेष्ठले बताउनुभयो ।

मध्यकालीगण्डकी आयोजनाको सुकेबगरस्थित बाँध, सुरुङ, आवास, मेसिनरी, उपकरण, निर्माण सामग्री, डिजेल ट्याङ्करमा बाढीले क्षति पुर्याएको प्रवर्द्धक हाइड्रो सपोर्ट प्रालिको लगानीकर्ता आइएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताउनुभयो । बाढीले निर्माणस्थलको डाइभर्सन भत्काउनुका साथै नागढुङ्गा र रातोपानीका आवास भवन तथा नौलीबगरस्थित पहुँचमार्ग क्षति गरेको छ ।

रघुगङ्गा गाउँपालिका–३ तिल्केनीचौरस्थित विद्युत्गृह क्षेत्रमा कालीगण्डकी नदीको कटानले क्षति पुर्याउँदा ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको परीक्षण अवधि लम्बिएको छ ।

टेलरेस गेट र स्वीचयार्ड नजिकको क्षेत्रमा क्षति पुग्नुका साथै विद्युत्गृहमा पानी पसेर डुबान भएको थियो । हाल २०/२० मेगावाट क्षमताका दुई युनिट आलोपालो सञ्चालन गरी परीक्षण उत्पादन भइरहेको आयोजनाका प्रबन्ध सञ्चालक गणेश केसीले बताउनुभयो ।

म्याग्दीखोला बेसीनमा निर्माणाधीन आयोजनामा पनि पहुँचमार्ग र ढुवानीको समस्या देखिएको छ । घुमाउने, बालौटे, बाङ्गेपहिरो, इल्पु र शिवरात्रि खोलाको बाढीपहिरोले निर्माण सामग्री तथा उपकरण ढुवानी  प्रभावित भएको अपर म्याग्दीखोला–१ का आयोजना प्रमुख ज्योतिकुमार केसीले बताउनुभयो ।

कूल ६० प्रतिशत भौतिक प्रगति भएको माथिल्लो म्याग्दी आयोजनाको निर्माणमा असर परेको छ । दरखोलालगायतका आयोजनाको सडकका विभिन्न स्थानमा पहिरो खस्दा निर्माण सामग्री ढुवानी गर्न समस्या भएको छ ।

यद्यपि, राहुघाट करिडोरका अपर राहुघाट, मङ्गले–चिमखोला–राहुघाट, अपर ठूलोखोला र ठूलोखोला जलविद्युत् आयोजनाको उत्पादन नियमित रहेको छ ।

बाढीपहिरोले जलविद्युत् आयोजनाका मुख्य संरचनासँगै प्रसारण लाइन, पहुँचमार्ग, निर्माण सामग्री भण्डारणस्थल र आवास संरचनासमेत जोखिममा रहेको देखाएको छ ।

जलविद्युत् क्षेत्रमा बढ्दो लगानीको सुरक्षा गर्न नदी कटान नियन्त्रण, सुरक्षित तटबन्ध, वैकल्पिक पहुँचमार्ग, प्रसारण टावरको संरक्षण र विपद् पूर्वतयारीलाई आयोजना निर्माण तथा सञ्चालनको अभिन्न अङ्ग बनाउनुपर्ने आवश्यकता देखिएको छ ।

IME Life
kumari