टाटा मोटर्सले स्टेलान्टिससँग साझेदारी गरी जीप र सिट्रोनका नयाँ गाडी उत्पादन गर्ने
टाटा मोटर्सले स्टेलान्टिससँगको दुई दशकभन्दा लामो साझेदारीलाई थप विस्तार गर्न एड्भान्स आर्किटेक्चर र टेक्नोलोजी साझा गर्ने भएको छ । सो सम्झौताले दुवै कम्पनीको उत्पादन र इन्जिनियरिङ क्षमतालाई एकीकृत गर्ने लक्ष्य राखेको छ।
सम्झौताअन्तर्गत विकसित सवारीसाधन भारतको फियाट इन्डिया अटोमोबाइल्स प्राइभेट लिमिटेडको उत्पादन प्लान्टमा निर्माण गरिनेछ।
यसमा टाटा मोटर्स प्यासेन्जर भेहिकल्स र स्टेलान्टिसबीच ५०:५० स्वामित्व रहेको छ । भारतको उत्पादन क्षमता, दक्ष जनशक्ति र इन्जिनियरिङ विशेषज्ञताको उपयोग गर्दै अन्तर्राष्ट्रिय बजारलाई लक्षित सवारीसाधन उत्पादन गर्नेछ ।
सो सहकार्यले भारतलाई स्टेलान्टिसको विश्वव्यापी उत्पादन र निर्यात सञ्जालमा थप महत्त्वपूर्ण केन्द्रका रूपमा स्थापित गर्न सहयोग पुर्याउने अपेक्षा गरिएको छ। विशेषगरी ५० भन्दा बढी अन्तर्राष्ट्रिय बजारका ग्राहकको आवश्यकता पूरा गर्ने लक्ष्यसहित सवारीसाधन विकास तथा निर्यातलाई प्राथमिकता दिइनेछ।
टाटा मोटर्स प्यासेन्जर भेहिकल्सका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत शैलेश चन्द्रले स्टेलान्टिससँगको सहकार्य आपसी विश्वास र दुवै कम्पनीका सबल पक्षमा आधारित रहेको बताएका छन्। उनका अनुसार दुई दशकभन्दा लामो समयदेखि विकसित हुँदै आएको सम्बन्ध अब उन्नत सवारीसाधन प्रविधि र आर्किटेक्चरको क्षेत्रमा विस्तार भएको छ।
त्यसैगरी, स्टेलान्टिस एसिया–प्रशान्त क्षेत्रका प्रमुख सञ्चालन अधिकृत तियान्शु जिनले भारतमा टाटा मोटर्सको बलियो उत्पादन तथा इन्जिनियरिङ क्षमतालाई स्टेलान्टिसको विश्वव्यापी पहुँचसँग जोड्दा नयाँ अवसर सिर्जना हुने बताएका छन्।




















