ज्योति विकास बैंकले १५ हजार भिसा डेबिट कार्ड खरिद गर्दै
काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले बैंकिङ सेवा प्रयोजनका लागि १५ हजार थान खाली भिसा डेबिट कार्ड खरिद गर्ने जानकारी दिएको छ । बैंकले योग्य नेपाली फर्म तथा कम्पनीबाट कार्ड आपूर्तिका लागि बोलपत्र आह्वान गरेको छ। इच्छुक कम्पनीले आगामी अक्टोबर ९ अर्थात् असोज २३ गतेसम्म बोलपत्र बुझाउनुपर्ने मिति ताेकिएकाे छ ।
बोलपत्रमा सहभागी हुन कम्पनी कम्तीमा तीन वर्षदेखि दर्ता भएको हुनुपर्ने, आपूर्ति गर्न प्रस्ताव गरिएको उत्पादनको अधिकृत वितरक हुनुपर्ने र बैंक, संस्थागत क्षेत्र वा सरकारी निकायमा कम्तीमा तीनवटा समान प्रकृतिका आपूर्ति कार्य गरेको अनुभव हुनुपर्ने जनाएकाे छ ।
त्यस्तै, आर्थिक वर्ष २०८१/८२ वा २०८२/८३ मध्ये कुनै एक वर्षमा कम्पनीको वार्षिक कारोबार कम्तीमा ५० लाख रुपैयाँ हुनुपर्ने बैंकले जनाएको पनि छ ।
बोलपत्रसँग कम्पनी दर्ता प्रमाणपत्र, स्थायी लेखा नम्बर वा मूल्य अभिवृद्धि कर दर्ता प्रमाणपत्र, कम्पनी परिचय, प्रबन्धपत्र तथा नियमावली, कर चुक्ता प्रमाणपत्र, लेखापरीक्षण प्रतिवेदन, अनुभवसम्बन्धी प्रमाणपत्र र उत्पादकको आधिकारिक पत्रलगायत कागजात पेस गर्नुपर्नेछ । साथै परीक्षणका लागि खाली कार्डका कम्तीमा पाँच थान नमुना पनि बुझाउनुपर्ने जनाएकाे छ ।





















