नेपालबाट विदेशमा हुने वस्तु निर्यात निरन्तर
काठमाडौँ । पछिल्ला केही वर्षयता नेपालबाट विदेशमा हुने वस्तु निर्यात निरन्तर बढिरहेको छ । चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिनासम्म मुलुकबाट दुई खर्ब ७८ अर्ब रुपियाँको वस्तु निर्यात भएको तथ्याङ्क भन्सार विभागले सार्वजनिक गरेको छ । यो निर्यात अहिलेसम्मकै उच्च हो ।
निर्यातको यस्तो तथ्याङ्कले सकारात्मक सङ्केत गरे पनि नेपालबाट निर्यात हुने प्रमुख पाँच वस्तुमा नेपालमै उत्पादन अथवा उत्पत्ति भएका वस्तुको हिस्सा भने कम देखिन्छ ।
विभागका अनुसार जेठसम्म नेपालबाट सबैभन्दा धेरै एक खर्ब १३ अर्ब रुपियाँको भटमास तेल निर्यात भएको छ । भटमास तेलका लागि आवश्यक कच्चा तेल भने नेपालमा उत्पादन भएको होइन ।
कुल निर्यातका ४२ प्रतिशत हिस्सा ओगट्ने भटमास तेलका लागि नेपालले अर्जेन्टिना र ब्राजिलबाट कच्चा भटमास तेल ल्याएको तथ्याङ्कले देखाउँछ । नेपालमा प्रशोधनमार्फत मूल्य अभिवृद्धि गरेर यस्तो तेल भारत निर्यात गरिन्छ । कच्चा तेल ल्याउन मात्रै नेपालले एक खर्ब १९ अर्ब रुपियाँ खर्च गरेको छ ।
भटमास तेलपछि नेपालबाट सबैभन्दा धेरै निर्यात हुने सूचीको दोस्रोमा अलैँची रहेको छ । नेपालकै उत्पादन अलैँची भने केबल १२ अर्ब रुपियाँको निर्यात भएको छ जुन कुल निर्यातको चार प्रतिशत मात्र हुन आउँछ । अलैँचीपछि नेपाली उत्पादन गलैँचा सबैभन्दा धेरै निर्यात हुने सूचीको तेस्रो स्थानमा रहेको छ । समीक्षा अवधिमा नेपालबाट नौ अर्ब ३८ करोड रुपियाँको गलैँचा निर्यात भएको तथ्याङ्क छ । कुल निर्यातमा भने यसको हिस्सा जम्मा ३.३७ प्रतिशत मात्र हुन आउँछ ।
सूचीको चौथोमा रहेको सूर्यमुखी तेल पनि नेपालको आफ्नो मौलिक उत्पादन होइन । अर्जेन्टिनाबाट कच्चा सूर्यमुखी तेल ल्याएर त्यसलाई प्रशोधन गरेर भारततर्फ निर्यात गर्ने प्रवृत्तिले यसको निर्यात बढेको देखिन्छ ।
प्रशोधित सूर्यमुखी तेलका लागि नेपालले ११ महिनासम्म अर्जेन्टिनाबाट करिब १५ अर्ब रुपियाँको कच्चा सूर्यमुखी तेल आयात गर्दा आठ अर्ब रुपियाँको निर्यात गरेको छ ।
नेपालबाट धेरै निर्यात हुने पाँचौँ सूचीमा रहेको पाम तेलका लागि आवश्यक पामको दाना नेपालमा उत्पादन नै हुँदैन । इन्डोनेसिया र मलेसियाबाट कच्चा पाम तेल ल्याएर प्रशोधन गरी भारत निर्यात गरेकै कारण यसको निर्यात उच्च देखिएको हो ।
नेपालबाट उच्च निर्यात हुने प्रमुख पाँच वस्तुमध्ये तीन वटा वस्तु नै नेपालमा उत्पादन भएका होइनन् । यी वस्तुलाई प्रशोधनमार्फत मूल्य अभिवृद्धि मात्रै गरेको लाभ नेपालले पाइरहेको छ । यसकै आधारमा नेपालको निर्यात उच्च भइरहेको छ तर सरकारले निर्यातका लागि प्राथमिकतामा राखेका वस्तुको निर्यात भने उल्लेख्य बढेको देखिँदैन ।
























