stcnepal long ad
ime life insurance
global ime bank long

प्रभावकारी बन्दै ‘सरकारी कुरियर सेवा’

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौँ । हुलाक सेवा विभागमार्फत थालिएको ‘स्मार्ट हुलाक’ को अवधारणासहित ‘सरकारी कुरियर सेवा’ ले तीव्रता पाएको छ । हुलाक सेवा विभागका अनुसार हालसम्म एक लाख ८१ हजार ८४३ थान राहदानी हुलाकमार्फत सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूमा ढुवानी गरिएको छ । तीमध्ये चार हजार ६४२ थान राहदानी सेवाग्राहीको घरदैलोमै पु¥याइएको छ ।

विभागका महानिर्देशक मनमाया भट्टराई पंगेनीका अनुसार यातायात व्यवस्था विभागबाट प्राप्त पाँच लाख ७८ हजार ५३ थान सवारीचालक अनुमतिपत्र (लाइसेन्स) गोश्वारा हुलाकमार्फत सम्बन्धित जिल्लामा पठाइएको छ । तीमध्ये एक हजार ८१ थान लाइसेन्स कास्की, मोरङ, बाँके, पर्सा, सुनसरी, कालीकोट, बझाङलगायत जिल्लाका सेवाग्राहीको घरमै वितरण गरिएको छ ।

सरकारको शासकीय सुधारसम्बन्धी सय कार्यसूचीमा हुलाक सेवालाई पुनर्जीवन दिई सरकारी कुरियर सेवाका रूपमा विकास गरिने प्रतिबद्धता अनुसार हुलाक सेवाको कामलाई तीव्र बनाइएको महानिर्देशक पंगेनीले बताउनुभयो ।

शैक्षिक प्रमाणपत्र घरदैलोमै पुर्‍याउने योजना अन्तर्गत त्रिभुवन विश्वविद्यालयसँग ढुवानीसम्बन्धी सम्झौताका लागि छलफल जारी रहेको उहाँले जानकारी दिनुभयो । हाल विश्वविद्यालयमा पदाधिकारी नियुक्ति नहुँदा सम्झौताले अन्तिम रूप लिन नसके पनि २६६ वटा शैक्षिक प्रमाणपत्र ढुवानीको कार्य प्रारम्भ भइसकेको विभागले जनाएको छ ।

विभागका अनुसार स्वास्थ्य क्षेत्रसँगको सहकार्य पनि विस्तार गरिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासँग पूरक सम्झौता गरी एक हजार १२४ वटा प्रयोगशाला नमुना ढुवानी गरिएको छ ।

त्यस्तै राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्र र हुलाक सेवा विभागसँग सम्झौता गरी डाँक ढुवानी कार्य अगाडि बढाइएको छ । स्वास्थ्य बिमा बोर्डसँग पनि सम्झौता गरी स्वास्थ्य सामग्री ढुवानी सेवा सुरु गरिएको छ ।

विदेशी हुलाक सेवामा सुधार गर्दै हुलाक सेवा विभागको समन्वयमा वैदेशिक हुलाक भन्सार कार्यालय र राष्ट्रिय वाणिज्य बैङ्कको काउन्टर हुलाक खुलेका दिनमा पनि सञ्चालन हुने व्यवस्था मिलाइएको छ ।

त्यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वैदेशिक हुलाक वस्तुको ढुवानी छिटो बनाउन द्रुतमार्ग प्रणालीसमेत प्रयोगमा ल्याइएको विभागले जनाएको छ । हुलाकमार्फत एक लाख ४३ हजार १७० थान पार्सल, चिठीपत्र तथा इएमएस सामग्री ढुवानी गरिएको छ ।

सेवा प्रवाहको गुणस्तर सुधारका लागि विभिन्न कार्यालयमा पुनर्ताजगी तालिम सञ्चालन गरिएको छ । हुलाकसेवा प्रभावकारी बनाउन विभिन्न स्थानीय तहसँग पनि छलफल गरी रायसुझाव लिइएको विभागले जनाएको छ ।

गैरकर राजस्व वृद्धि र सेवा प्रवाहलाई सहज बनाउन सुरक्षण मुद्रण केन्द्रसँग सम्झौता गरी ३४ लाख ७४ हजार थान हुलाक टिकट छपाइ गरिएको छ । थप टिकट छपाइका लागि डिजाइन स्वीकृत गरी सुरक्षण मुद्रण केन्द्रलाई पठाइएको विभागले जनाएको छ ।

prabhu mahalaxmi
kumari