स्वास्थ्य बीमाका लागि थप भुक्तानी प्रक्रिया अगाडि बढ्यो
काठमाडौं । स्वास्थ्य बीमा बोर्डले देशका विभिन्न २०२ सेवा प्रदायक अस्पताललाई बीमा भुक्तानीका लागि थप रु ९१ करोड १८ लाख ९४ हजार भुक्तानी गर्ने प्रक्रिया अगाडि बढाएको छ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य बीमा तथा विपन्न नागरिक औषधि उपचार कार्यक्रमअन्तर्गत बाँकी दायित्व भुक्तानीलाई प्राथमिकतामा राख्दै रकम निकासा सहजीकरण गरिरहेको छ।
मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार यसअघि गत जेठको दोस्रो साता स्वास्थ्य बीमा दाबीबापत रु एक अर्ब तीन करोड २४ लाख ७७ हजार भुक्तानी गरिएको थियो। उनका अनुसार गत जेठ २१ गते विपन्न नागरिकको औषधि उपचार खर्चबापत रु ३२ करोड १३ लाख ६ हजार निकासा गरिएकामा सोही महिनाको २७ गते थप रु २७ करोड ३७ लाख ७८ हजार भुक्तानी गरियो।
गत मङ्सिरसम्मको बीमा दाबीमध्ये भुक्तानी दिन बाँकी रु सात अर्ब र पुसदेखि असारसम्मको रु साढे १४ अर्ब आवश्यक पर्ने अनुमान गरिएको छ।
सहप्रवक्ता अधिकारीका अनुसार सरकारले विगतका वर्षदेखि बाँकी रहेको बीमा दाबी तथा विपन्न नागरिकको औषधि उपचार सम्बन्धी रकम भुक्तानीलाई उच्च प्राथमिकतामा राख्दै आवश्यक स्रोत व्यवस्थापन र भुक्तानी प्रक्रियालाई तीव्रता दिएको छ।



























