stcnepal long ad
global ime bank long

युएईको परमाणु ऊर्जा केन्द्रमा ड्रोन आक्रमण

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

संयुक्त अरब इमिरेट्स (युएई) को एक मात्र परमाणु ऊर्जा केन्द्रमा ड्रोन आक्रमण भएपछि पश्चिम एसियामा तनाव थप चर्किएको छ । युएईका अधिकारीहरूले यसलाई आतङ्कवादी हमला भन्दै कडा निन्दा गरेका छन् । आक्रमणपछि आणविक केन्द्रको बाहिरी क्षेत्रमा आगलागी भएको थियो । यद्यपि कुनै मानवीय क्षति वा रेडियोधर्मी पदार्थ चुहावट नभएको अधिकारीहरूले बताएका छन् ।

यो घटना अमेरिका र इरान दुवैले पुनः युद्धका लागि तयार रहेको सङ्केत दिइरहेका बेला भएको हो । पछिल्ला दिनमा फारसको खाडी क्षेत्रमा तनाव तीव्र बन्दै गएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई चेतावनी दिँदै सामाजिक सञ्जाल मार्फत इरानका लागि समय सकिँदै गएको बताउनुभएको अमेरिकी समाचार संस्था एपीले जनाएको छ ।

उहाँले इजरायली प्रधानमन्त्री बेन्यामिन नेतन्याहुसँग फोनवार्ता गरेपछि यस्तो प्रतिक्रिया दिनुभयो । इरानका सर्वोच्च नेताका सैन्य सल्लाहकार मोहसेन रेजाईले भन्नुभयो, “हाम्रा सशस्त्र बलहरू युद्धका लागि पूर्ण तयारी अवस्थामा छन् तर कूटनीतिक प्रयास पनि जारी छ ।”

युएई रक्षा मन्त्रालयका अनुसार, तीन वटा ड्रोन साउदी अरेबियाको सीमातर्फबाट युएई प्रवेश गरेका थिए । तीमध्ये दुई वटा ड्रोनलाई हवाई प्रतिरक्षा प्रणालीले बिचमै खसालेको थियो भने एउटा ड्रोनले युएईको बाराकाह आणविक ऊर्जा केन्द्र नजिक आगलागी गराएको बताइएको छ ।

बाराकाह आणविक ऊर्जा केन्द्रले युएईको कुल विद्युत् आवश्यकताको करिब एक चौथाइ ऊर्जा उत्पादन गर्ने गर्छ । त्यसैले यस केन्द्रमाथिको हमला अत्यन्त संवेदनशील मानिएको छ । युएईका कूटनीतिक सल्लाहकार अनवर गर्गासले सामाजिक सञ्जालमा लेख्दै ‘यो हमला प्रत्यक्ष रूपमा वा कुनै प्रतिनिधि समूहमार्फत गरिएको भए पनि अत्यन्त खतरनाक उक्साहट’ भएको बताउनुभयो ।

साउदी अरेबियाले पनि उक्त आक्रमणको निन्दा गर्दै आफ्नो हवाई क्षेत्रमा प्रवेश गरेका थप तीन वटा ड्रोन खसालिएको जनाएको छ । हालै इरान समर्थित सशस्त्र समूह तथा इराकस्थित सिया लडाकु समूहले खाडी क्षेत्रका विभिन्न देशमाथि ड्रोन आक्रमण गर्दै आएका छन् ।

यसैबिच हर्मुज जलमार्गमा अमेरिकी नौसैनिक नाकाबन्दीका कारण क्षेत्रीय तनाव झन् बढेको छ । विश्लेषकहरूका अनुसार युएईको आणविक संरचनामाथि भएको यो हमला पश्चिम एसियालाई फेरि ठुलो युद्धतर्फ धकेल्ने सङ्केत हुन सक्छ ।

IME Lifesidebar
kumari