आर्थिक रुपान्तरण हुनेगरी बजेट ल्याउन अर्थमन्त्रीलाई एफएनसीसीआईको सुझाव
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले आर्थिक रुपान्तरण हुने गरी आव २०८३/८४ को बजेट ल्याउन अर्थमन्त्रीलाई सुझाव दिएको छ। आइतबार अर्थ मन्त्रालयमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई बजेटका सुझाव पेश गर्दै महासंघले आगामी बजेट केवल सामान्य वार्षिक दस्तावेज मात्र नभई नेपालको आर्थिक इतिहासकै विशिष्ट मोडमा आउन लागेको भन्दै अर्थतन्त्रको वर्तमान मोडेलमा आमूल परिवर्तन गर्न सुझाव दिएको हो।
महासंघले खस्कँदो व्यावसायिक मनोबल उकास्न, बजारमा माग श्रृजना गर्न र रोकिएको लगानी पुनः आर्किषित गर्न, रोजगारी श्रृजना गर्ने गरि बजेटमा नीतिगत सुधारको सुझाव दिएको छ।
अर्थमन्त्री समक्ष सुझाव पेश गर्दै महासंघका अध्यक्ष अन्जन श्रेष्ठले महासंघले हालै सार्वजनिक गरेको “६ स्तम्भ, ६० पहल” सहितको साझा राष्ट्रिय रूपरेखाले सरकार कै नीति तथा कार्यक्रमलाई सहयोग गर्ने उल्लेख गर्दै विप्रेषण र आयातमा आधारित अर्थतन्त्रले दीर्घकालीन समृद्धि दिन नसक्ने हँदा रुपान्तरकारी बजेट आउनेमा निजी क्षेत्र आशावादी रहेको धारणा राखे।
“हरेक वर्ष कर नीति बदलिने प्रवृत्तिले लगानीकर्ताको विश्वास गुमेको छ । निजी क्षेत्रले सालबसाली आर्थिक ऐनको अस्थिर अभ्यास अन्त्य गरी व्याख्यासहितको एकल राजस्व संहिता’ लागू गर्न र अधिकार सम्पन्न राजस्व बोर्डको गठन आवश्यक छ । साथै, कर कानुन भूतप्रभावी रूपमा लागू नहुने स्पष्ट प्रत्याभूति आवश्यक छ, ” उनले भने ।
अर्थमन्त्री वाग्लेले अर्थतन्त्रको संरचनागत सुधार गर्ने गरी रूपान्तरणकारी वर्षको आउने बताए। उनले सरकार निजी क्षेत्रलाई मुख्य साझेदार मानेरै अगाडि बढ्न प्रतिबद्ध रहेको प्रष्ट पार्दै महासंघको प्रतिनिधिमण्डललाई आशावादी रहन आग्रह गरे।
“हामीले राजनीतिमा परिवर्तन ल्याएका छौं । अब अर्थतन्त्रमा परिर्वतन ल्याउनु छ । नयाँ जनादेश पाएको सरकारको यो पहिलो पूर्ण बजेट भएकाले यसले पुराना परम्परागत ढाँचालाई तोड्नु पर्ने छ,” अर्थमन्त्रीले भने।
अध्यक्ष श्रेष्ठले निजी क्षेत्रका अनुसार हाल मुलुकको औद्योगिक उत्पादन क्षमता ४० प्रतिशतमा सीमित भएको, निर्माण उद्योग इतिहासकै कठिन मोडमा पुगेको, कुल गार्हस्थ्य पूँजी निर्माणमा निजी क्षेत्रको योगदान विगत चार वर्षमा २८ प्रतिशतबाट घटेर १६ प्रतिशतमा झरेको अवस्थामा अर्थतन्त्रलाई पुर्नजीवन दिने गरि बजेट आउनु पर्ने बताए।
महासंघले विगत दुई दशकमा नेपालको औसत आर्थिक वृद्धिदर ४ प्रतिशत मात्र रहँदा करको वृद्धिदर भने ११ प्रतिशत पुगेको र जिडिपीको अनुपातमा राजस्व १९ प्रतिशत नाघेर दक्षिण एशियाकै उच्च कर भारमध्ये एक बनेको तर्फ निजी क्षेत्रले सरकारको ध्यानाकर्षण गराएको छ ।
उच्च करका कारण अनौपचारिक कारोबार, अवैध व्यापार र उद्यम पलायन बढेको महासंघको धारणा गरिएको छ । यस्तै मध्यपूर्वमा विकसित संकटका कारण नेपालको वैदेशिक रोजगारी, विप्रेषण (रेमिट्यान्स) र विदेशी मुद्रा सञ्चितिका साथै समग्र अर्थतन्त्रमा झण्डै १.८ प्रतिशत बराबरको नकारात्मक असर पर्न सक्ने महासंघको अनुमान छ ।
नेपाल अतिकम विकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नतिको पृष्ठभूमिमा स्तरोन्नतिपछि नेपालले पाउँदै आएको प्राथमिकताप्राप्त बजार पहुँच गुम्ने र ढुवानी तथा वित्तीय लागतका कारण नेपाली उत्पादन थप कमजोर हुने जोखिम रहेको उल्लेख गर्दै महासंघले यसका लागि निर्यातजन्य उद्योग (कपडा, कार्पेट, गार्मेन्ट, पश्मिना, फेल्ट) का लागि विशेष र दीर्घकालीन एकीकृत नीति ल्याउन माग गरेको छ ।
स्तरोन्नतिपछिको (पोस्ट–एलडिसी) सरकारको प्राथमिकताको सन्दर्भमा अर्थमन्त्री वाग्लेले यसलाई सरकारले गम्भीरतापूर्वक लिएको तर समय सार्ने प्रस्ताव गरेको अवस्थामा त्यसपछिको तयारीमा रहनु पर्नेमा जोड दिए।
महासंघले सुझावमा नेपाली कम्पनीहरूलाई क्षेत्रीय र अन्तर्राष्ट्रिय स्तरमा विस्तार हुनका लागि निर्यातबाट आर्जित आम्दानीको निश्चित हिस्सा विदेशमा लगानी गर्न पाउने कानुनी व्यवस्था गर्न उल्लेख गरेको छ ।
यस्तै व्यवसायीहरूले हाल व्यवसाय सञ्चालनभन्दा व्यवसाय जोगाइराख्नु चुनौतीपूर्ण भएको गुनासो गरेका छन् । खुला सीमाबाट हुने चोरी पैठारी नियन्त्रण गर्न र साफ्टा अन्तर्गत तयारी वस्तु कच्चा पदार्थभन्दा सस्तो आयात हुने विकृति तत्काल रोक्न माग गरिएको छ ।
रुग्ण उद्योग पुनः सञ्चालनका लागि विशेष स्किम, ऊर्जा, प्रसारण लाइन, पम्प स्टोरेज, सुरुङमार्ग (टनेल) र औद्योगिक क्षेत्रमा बुट र पीपीपी मोडेल प्रभावकारी बनाउन तथा भायबिलिटी ग्याप फण्ड मार्फत निजी लगानी प्रोत्साहन गर्न पनि महासंघले सुझाव दिएको छ ।
कृषि, पर्यटन, जडीबुटी, चिया, कफी, सूचना प्रविधि र सेवा निर्यातलाई उच्च प्राथमिकता दिँदै नेपाललाई उपभोक्ता बजारबाट उत्पादन र सेवा निर्यात गर्ने राष्ट्र बनाउन निजी क्षेत्रले सरकारसँग बजेट मार्फत ठोस कदमको अपेक्षा राखेको अध्यक्ष श्रेष्ठले बताए। अध्यक्ष श्रेष्ठले व्यावसायिक वातावरणको सुरक्षा र उद्यमशीलताको अपराधीकरणका विषयमा पनि अर्थमन्त्रीको ध्यानाकर्षण गराए।
यस्तै महासंघले आयात प्रतिस्थापन गर्दै निर्यात प्रवर्धनमा सहुलियत कृषि, पर्यटन, स्टार्टअप ,साना तथा मझौला उद्योगहरुको प्रवर्धन लगायतका विभिन्न विषयगत श्रेत्रमा सुधारको लागि सरकालाई सुझाव दिएको छ ।
अर्थमन्त्री वाग्लेले सरकार र निजी क्षेत्र मिलेरै काम गर्ने उल्लेख गर्दै बजेट सुशासन कायम गर्ने, निजी क्षेत्रको विकासमा बल पुग्ने, लगानी अभिवृद्धि गरि रोजगारी श्रृजना गर्न सहयोग गर्ने गरि आउने प्रतिवद्धता जनाए।

























