कृषि विकास बैंकको नाफा ३ अर्ब ४६ करोड
काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा कृषि विकास बैंकको अधिकांश सूचक प्रभावित भएको छ । यस अवधिमा खुद नाफा १७.२६% ले घटेर ३ अर्ब ४६ करोड ८० लाख ३१ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्ष बैंकले ४ अर्ब १९ करोड १५ लाख ९० हजार रुपैयाँ खुद नाफा कमाएको थियो । असार मसान्तसम्म वितरण योग्य नाफा पनि १ अर्ब ६६ करोड ५३ लाख ९५ हजार रुपैयाँमा सीमित भएको छ ।
यो अघिल्लो वर्षको भन्दा ४९.७०% ले कम हो । अघिल्लो वर्ष बैंकको वितरण योग्य नाफा ३ अर्ब ३१ करोड १३ लाख ४८ हजार रुपैयाँ थियो ।
यसअवधिमा खुद ब्याज आम्दानी र सञ्चालन नाफा शीर्षक क्रमशः १८.११% र १६.५०% ले घटेको छ । यसले पनि समग्र खुद नाफा प्रभावित बनाएको हो ।
यस बैंकले असार मसान्तसम्म १ खर्ब ४३ अर्ब ६४ करोड ८२ लाख रुपैयाँ निक्षेप संकलन गरेर १ खर्ब २३ अर्ब ५ करोड २२ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । कृषिको प्रतिसेयर आम्दानी ३२ रुपैयाँ ८८ पैसा र प्रतिसेयर नेटवर्थ २३७ रुपैयाँ ५४ पैसा रहेको छ ।























